काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १२ हजार ८७९ जनाको पिसिआर परीक्षणका क्रममा ११२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । जसमा १८ हजार १०८ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रालयका अनुसार चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित छन् । सोलुखुम्बु, मुस्ताङ, भोजपुर, ताप्लेजुङ, डोल्पा, हुम्ला र मुगुमा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट छ महिला र छ जना पुरुष गरी १२ जनाको मृत्यु भएको जानकारी दिए ।

मृतकहरुमा महोत्तरीका चितवनका ५५ र १८ वर्षीया, काठमाडौँका ८९ वर्षीया, ललितपुरका ७० वर्षीया, तनहुँका २० वर्षीया र कपिलवस्तुका ६० वर्षीया महिला रहेका छन् । यस्तै, बाराका ९७, चितवनका ६५, भक्तपुरका ४०, काठमाडौँका ७० र ७५ र धादिङका ४७ वर्षीय पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५१ जना पुगेको छ । जसमा १८३ पुरुष र ६८ महिला रहेका छन् ।

काठमाडौँ उपत्यकामा ३८८ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् । यससँगै राजधानीभित्र संक्रमित हुनेको संख्या ६५९३ पुगेको छ । जसमा काठमाडौँका ५२६५, ललिपुरका ८७२ र भक्तपुरका ५४० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ७ लाख १८ हजार ४३९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ६ हजार ७६६ जना क्वारेन्टाइनमा र १८ हजार १०८ जना आइसोलेसनमा रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ४९३ र होम आइसोसनमा ७ हजार ६१५ जना रहेका छन् ।

त्यस्तै, बुधबार एकै दिन कोरोना संक्रमण निको भई १११२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ । जुन ५६ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया