चितवन । भरतपुर महानगरपालिकाको आइसोलेसनमा प्राकृतिक चिकित्सा विधिबाट उपचार थालिएको छ । भरतपुर महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएर लक्षण नदेखिएकालाई राखेर आइसोलेसन सञ्चालनमा ल्याएको हो ।

गएको आइतबारबाट सुरु गरिएको आइसोलेसनमा हालसम्म ३१ जना महानगरवासी रहेका छन् । जसमा १३ जना महिला छन् । अभिभावकसँगै २ र ८ वर्षका दुई बच्चा पनि छन् । उनीहरुमा भने सङ्क्रमण छैन ।

चिकित्सालयका प्रमुख डा हेमराज कोइरालाका अनुसार आइसोलेसनमा रहेकालाई आवधिक उपवास विधिबाट उपचार थालिएको छ जसका लागि बेलुका ५ बजेबाट बिहान ९ बजे सम्मको समयमा ठोस् पदार्थ खान दिइएको छैन । कोइरालाले भने “भाइरस मारेर ऊर्जा उत्पादन गर्ने प्रक्रिया सुरु गरेका छौँ ।” यस विधिलाई जाइनो फेजी पनि भनिन्छ ।

कोइरालाले यस विधिमा ८ घन्टा खाने र १६ घन्टा भोकै बस्ने जानकारी दिए । खाना नखाएपछि शरीरका कोषलाई ऊर्जा पुग्दैन । कोइरालाले भने, “कोषले ऊर्जा नपुगेपछि कोषभित्रको भाइरस मारेर ऊर्जा उत्पादन गर्न थाल्छ ।”

प्राकृतिक चिकित्सा विधिअन्तर्गत आइसोलेसनमा बसेकालाई बिहान पानीमा मह र कागती मिसाएर दिइन्छ । बिहान ६ बजेदेखि ७ बजेसम्म योग, त्यसपछि योगक्रिया जलनेती, कुञ्जजल र घाँटी कुल्ला गरिन्छ । प्रणायाम, हास्य योग, हल्लायोग, नृत्य योगपछि बिहान ९ बजे खाना खुवाइन्छ ।

कोइरालाले सूर्य स्नान गराएर उच्च रक्तचाप, अक्सिजन मापन, धड्कन मापनजस्ता परीक्षणपछि सङ्क्रमितको अवस्थाको बारेमा गुनासा भए चिकित्सकसहितको टोलीले सुन्ने जानकारी दिए । आइसोलेसनमा रहनेहरुलाई ११ बजे दाल, भात, तरकारीसहितको खाना खाएपछि केही समय आराम गर्न दिइन्छ । दिउँसो २ बजे मह, कागती पानी खाएपछि साँझ ५ बजे दाल, भात तरकारीसहितको पूर्ण भोजन गर्छन् । साँझ प्रार्थना पछि आ–आफ्नो कला प्रस्तुत गर्दै रमाइलो गर्ने गर्दछन् । साँझ ७ः३० देखि ८ बजेसम्म दूध र बेसारपानी खाएर सुत्ने कोइरालाले जानकारी दिए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आइसोलेसनमा बसेकाहरु निकै खुसी भएको बताइन् । उनले थपिन् “त्यहाँ रहनुभएकाहरु निकै खुसी हुनुभएको छ । उहाँहरुलाई खुसी बनाएर निको बनाउन सक्दा नै हामी सन्तुष्ट हुन्छौँ ।” चिकित्सालयका चिकित्सक एवं कर्मचारीको मेहनतले पनि आइसोलेसनमा बस्नेहरु सन्तुष्ट बनेको दाहालको भनाइ छ । त्यहाँ रहेका अन्य भवनहरुको पनि मर्मत सम्भार थालिएको छ । उनका अनुसार सबै मर्मत सम्भार गर्दा २ सय जनासम्म राख्न सकिने छ ।

कम खर्चमा मर्मत सम्भार हुनेलाई पहिलो प्राथकिकतामा राखिएको उनले जानकारी दिइन् । पहिलो प्राथमिकता महानगरवासी भएको भन्दै उनले आपत् परे बाहिरकालाई पनि राखिने जानकारी दिइन् । जिल्लामा आजसम्म सङ्क्रमितको संख्या ८४७ पुगेको छ । जसमध्ये ५२४ महानगरका छन् । रासस

तपाईको प्रतिक्रिया