काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ३८२ जनाको पिसिआर परीक्षणका क्रममा ९८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । जसमा १७ हजार २७ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रालयका अनुसार चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, मकवानपुर, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सप्तरी, सर्लाही, बारा, डोटी, बाजुरा, कैलाली, कन्चनपुर, पाल्पा, पश्चिम नवलपरासी, दाङ, बाँके, दैलेख, अछाम र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित रहेका छन् । सोलुखुम्बु, मुस्ताङ, ताप्लेजुङ, डोल्पा र हुम्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट दुई महिला र सात पुरुष गरी नौ जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौँका ८५ वर्षीय, ७४ वर्षीय र ६८ वर्षीय पुरुष, मोरङकी ६५ वर्षीया महिला र ४५ वर्षीय पुरुष, झापाकी ४५ वर्षीया महिला, पर्साका ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष तथा चितवनका ७० वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ । जसमा २०८ पुरुष र ८१ महिला रहेका छन् ।

आइतबार काठमाडौँ उपत्यकामा ३५४ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना रहेका छन् । यससँगै राजधानीभित्र संक्रमित हुनेको संख्या ८२५४ पुगेको छ । जसमा काठमाडौँका ६६२४, ललितपुरका ९१९ र भक्तपुरका ७११ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ को उदयपुर, ताप्लेजुङ, भोजपुर र ओखलढुंगामा एक–एक जना, झापामा २६, मोरङमा २९, संखुवासभामा छ तथा सुनसरीमा ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, प्रदेश नं २ को धनुषामा १०, पर्सामा २५, बारामा ७३, महोत्तरीमा तीन, रौतहटमा आठ, सप्तरीमा ११, सर्लाहीमा पाँच तथा सिरहामा छ जनामा सङ्क्रमण पुष्टि भएको छ ।यसैगरी, वागमती प्रदेशको काठमाडौँमा २९०, काभ्रेपलाञ्चोकमा एक, चितवनमा ३०, दोलखामा सात, धादिङमा १०, भक्तपुरमा ३२, ललितपुरमा ३२, सिन्धुपाल्चोकमा एक तथा सिन्धुलीमा दुई जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा पाँच, तनहुँमा सात, नवलपरासी पूर्वमा १२, लमजुङमा दुई, बागलुङमा तीन तथा स्याङ्जामा २२ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

यस्तै, प्रदेश नं ५ को अर्घाखाँचीमा ११, कपिलवस्तुमा चार, दाङमा तीन, नवलपरासीमा दुई, पाल्पामा १९, प्युठानमा चार, बर्दियामा छ, बाँकेमा छ र रुपन्देहीमा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी, कर्णाली प्रदेशको कालिकोटमा एक, जाजरकोटमा दुई, जुम्लामा पाँच, दैलेखमा दुई र सुर्खेतमा ४४ जना, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा तीन, कैलालीमा २१, अछाममा ११, डडेल्धुरामा दुई तथा बझाङमा १० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ७ लाख ६८ हजार ३४५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ७०३ जना क्वारेन्टाइनमा र १७ हजार ०२७ जना आइसोलेसनमा रहेका छन् ।
जसमा संस्थागत आइसोलेसनमा ९ हजार २०१ र होम आइसोसनमा ७ हजार ८२६ जना रहेका छन् । जसमध्ये १७४ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने २१ लाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताए ।

त्यस्तै, आइतबार एकै दिन कोरोना संक्रमण निको भई १८१४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ पुगेको छ । जुन कुल संक्रमितको ६१ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया