चितवन । पूर्वी चितवनको रत्ननगर १ बकुलहरचोकमा रहेको निर्मल बहुउद्देश्यीय सहकारीमा भएको रासायनिक मलमा कालोबजारीअन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार सहकारीमा आबद्ध चार जनालाई जनही १० हजार प्रतिव्यक्ति जरिवाना तोकेको छ ।

जरिवाना गरिएकाहरुमा सहकारीका व्यवस्थापक विनोद अधिकारी, मायानाथ अर्याल, रामकृष्ण तिमिल्सिना, निर्मला घिमिरे रहेका छन् ।

सो सहकारीले तोकिएको मूल्य भन्दा बढी रकम लिएर मल किसानलाई बेचेको आरोपसहित जिल्ला प्रशासनमा मुद्दा परेको थियो । सो सहकारीले बिक्री गर्न नभ्याएका ५१ बोरा मल प्रशासनले जफत गर्ने भएको छ ।

जफत गरिएका मल सम्बन्धित स्थानीय तहलाई किसानका लागि बिक्री गर्न दिने र उठेको रकम राजस्वमा जम्मा गर्ने फैसला भएको जिल्ला प्रशासनका सूचना अधिकारी प्रशासकीय अधिकृत ईश्वर सिंखडाले जानकारी दिए । सो सहकारीलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२ को दफा ३ अनुसार कारबाही गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया