चितवन । पूर्वी चितवनको रत्ननगरका जुझारु युवाहरुले बेसहारा र भोका मानिसहरुका लागि बिहानबेलुका खाना खुवाउने अभियान थालनी गरेका छन् । रत्ननगरको ‘साथ सबैको’ र ‘सुनौलो रत्ननगर’ संस्थाको संयुक्त आयोजनामा बुधबारदेखि खाना खुवाउने अभियान सुरू गरिएको हो ।
बुधबार रत्ननगर २ स्थित नेपाल माध्यमिक विद्यालयको खेलमैदान नजिकै प्रतीक्षालयमा ५० जना मानिसलाई खुवाइएको थियो । अभियानमा ‘साथ सबैको’ संस्थाका अध्यक्ष विज्ञान लामिछाने र ‘सुनौलो रत्ननगर’का अध्यक्ष मनीष खनालसहित सन्दीपा लामिछाने, सुजाता पौडेल, राज देवकोटा, सन्तोषी न्यौपाने, प्रतिमा भट्ट, स्मृति बस्ताकोटी, निरोज लामिछाने, कृपा रिमाल, प्रनिश भट्ट, आशिष रेग्मी, विधान बास्तोला, अपेक्षा पौडेल, अस्मिता भट्ट सहभागी छन् ।

सामाजिक अभियान्ता अर्जुन भूषालको अगुवाइमा सो अभियान सञ्चालन भएको ‘साथ सबैको’ संस्थाका अध्यक्ष विज्ञान लामिछानेले बताए । बुधबार बेलुकी ५ बजेदेखि रत्ननगर ४ स्थित शिवालय मन्दिर परिसरमा खाना खुवाइने कार्यक्रम रहेको उनले जानकारी दिए ।

कार्यक्रम संयोजक सुशील कोइरालाका अनुसार पूर्वी चितवनमा जुनसुकै स्थानमा अलपत्र परेका, बिचल्लीमा परेका वा भोकभोकै बस्नुपरेका मानिस भए ९८६२५–४८३३३ वा ९८४५९–५४३४४ नम्बरमा फोन गरी जानकारी दिन सकिनेछ भने सोही नम्बरमा सम्पर्क गरी अभियानका लागि सहयोग गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया