चितवन । चितवनमा बिहीबार थप ८२ जनामा कोरोना पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका ७८ जनासहित १०२ जनामा कारोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमध्ये केही यसअघि नै संक्रमित भएकाहरु रहेको सिएमसीले जनाएको छ ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरका ५४ जना, रत्ननगर नगरपालिकाका १९ जना, खैरहनी नगरपालिकाका चार जना र राप्ती नगरपालिकाका एक जना रहेका छन् । चितवन बाहिरका २४ जना रहेका छन् ।

यसैगरी, बिहीबारै चितवनमा थप चार जनामा कोरोना पुष्टि भएको थियो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरका दुई र खैरहनी नगरपालिका दुई गरी चार जनामा भाइरस संक्रमण पुष्टि भएको हो । यससँगै चितवनमा हालसम्म कोरोना सङ्क्रमितको संख्या १३ सय ८९ पुगेको छ ।

भरतपुर महानगरमा ९४३, रत्ननगरमा १५७, राप्तीमा १००, खैरहनीमा ७२, माडीमा ५३ र इच्छाकामनामा १२ जना कोरोना सङ्क्रमित भएका छन् । जसमध्ये ४०९ जना डिस्चार्ज भएका छन् भने १७ जनाको मृत्यु भएको छ । विभिन्न आइसोलेसनमा गरी ८८१ जना उपचाररत छन् ।

तपाईको प्रतिक्रिया