अजित अधिकारी
चितवन । माडीका विभिन्न क्षेत्रहरुमा रहेका भूमिहीन सुकुमबासी तथा घरविहीन गरिब तथा विपन्न परिवारका लागि माडी नगरपालिका र छिमेक समाज नेपालले घर निर्माण गर्ने भनेर प्रतिबद्धता जाहेर गरे पनि आज सम्म घर निर्माण हुन सकिरहेको छैन । कुसुम खोलाबाट आएर माडी नगरपालिका ७ देवेन्द्रपुरस्थित परुई खोलाको किनार तथा अन्य स्थानमा अस्थायीरुपमा घरटहरा बनाई बसोबास गर्दै आएका भूमिहीन सुकुमबासीहरुलाई स्थायी आवासको व्यवस्था गर्न लागिएको बताउँदै आएका माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले सुकुमबासी जनताहरुको घर निर्माण गर्न नसक्नु लज्जाको विषय रहन गएको छ ।

स्थानीय सरकारको रुपमा रहेको माडी नगरपालिकाको सहयोग एवं छिमेक समाज नेपालको समन्वयमा अस्थायीरूपमा बसोबास गरेका १४० घरधुरी भूमिहीन सुकुमबासीहरुलाई आवासको व्यवस्था गर्न लागिएको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले गत चैत २७ गते नेपाली आवाज डटकमसंग बताएका थिए । साथै उनले घर निर्माणका लागि लकडाउनले पनि प्रभाव नपार्ने बताएका थिए । तर पनि नगर प्रमुख ढकालले सुकुमबासी जनताहरुको घर निर्माण गर्ने भनेको समयावधि झन्डै ५ महिना बितिसकेको छ । काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भनेझैं बिगत लामो समयदेखि माडीको बाँदरझुला, कुसुमखोला लगाएतका माडीका विभिन्न क्षेत्रहरुमा छरिएर रहेका सुकुमबासीहरुको समस्या समाधान नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले माडीमा अयोध्याधाम निर्माण गर्छु भन्नु हास्यास्पद भएको बुद्धिजीवीहरु बताउँछन ।

उता माडीलाई अयोध्याधाम निर्माण गर्ने भन्दै गर्दा, माडीमा रहेका वास्तविक भुमिहिन सुकुमबासीहरुलाई ब्यबस्थित तरिकाले जग्गा उपलब्ध गराएर राख्न नसकिएको अबस्थामा अयोध्याधाम निर्माण गर्छु भन्नुको तात्पर्य के हो ? सुकुम्बासी समस्या समाधान नगरी माडीमा पहिला गरिबको घर बनाउने कि मन्दिर ? भन्ने प्रश्नमा नगर प्रमुख ढकालले सरकारले यदि माडीमा रहेका सुकुमबासी जनताहरुको समस्या यथाबत राख्ने हो र समस्या समाधान नहुने हो भने म मन्दिर बनाउन सहमत छैन । यदि सरकारले मन्दिर संगै सुकुमबासी समस्याको समाधान गर्छ भने मात्र म सहमत छु । सरकारले अयोध्याधाम निर्माण गर्ने विषयमा बैकल्पिक रुपमा सुकुमबासी समस्याको समाधान नगरी मन्दिर बनाउँदा अन्याय हुने तर्क गरे । मन्दिर संगै सुकुमबासी समस्या समाधानको लागि तत्काल बैकल्पिक योजनाहरुको निर्माण गर्नुपर्ने नगर प्रमुख ढकालको बुझाई रहेको छ ।
उता नगरपालिकाले बसोबासको लागि जग्गाको छनोट गरी घर बनाउँदा चाहिने गिटी, ढुङ्गा, बालुवाआदि जनश्रमदानद्वारा घर निर्माण गरिदिने नगरपालिकाको आश्वासनको प्रतीक्षामा बस्दाबस्दै वाक्क लागेको परुई खोलाको किनारमा बस्दै आएका स्थानीय छविलाल चेपाङ्गले बताए । उनका अनुसार अहिलेको बर्षामा बडो आपत संग दिनहरु बिताएको दुखेसो गरे । यस अगाडि माडी नगरपालिकाले माडीका विभिन्न स्थानहरुमा छरिएर रहेका भूमिहीन सुकुमबासी, गरिब तथा विपन्न वर्गका लागि घर निर्माणको लागि माडी नगरपालिकाको तर्फबाट १०० र छिमेक समाज नेपालले ४० गरी कुल १४० घर निर्माणको प्रक्रिया अघि बढाइएको जनाएको थियो । यसैगरी नगरपालिकाले ब्लक सिस्टमअनुसार एक घरधुरीबराबर दुई कोठाको घर र एउटा चर्पीको निर्माण गर्ने जनाएको थियो । तर अहिले सम्म काम भने हुन सकिरहेको छैन ।

तपाईको प्रतिक्रिया