काठमाडौँ । नेपालमा आइतबार १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार आइतबार थप १३२५ सहित ६४ हजार १२२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा १० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।

एकैदिन कोरोना संक्रमण निको भई ९६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ पुगेको छ । जुन कुल संक्रमितको ७२।१० प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा थप ७६७ जनामा संक्रमित थपिएका छन् । काठमाडौँका ६०२, ललितपुरका ६४ र भक्तपुरका १०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १५ हजार ७५७ पुगेको छ । जसमा काठमाडौँमा कुल १३ हजार १२७, ललितपुरमा १ हजार ६६१ र भक्तपुरमा १ हजार ३३५ जना रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप ९ हजार ५८४ जनासहित हालसम्म ९ लाख १४ हजार २९० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ७ हजार ४५१ जना क्वारेन्टाइनमा र १७ हजार ४७८ जना आइसोलेसनमा रहेका छन् । देशभरका संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना र होम आइसोलेसनमा ८ हजार ४०७ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया