काठमाडौँ । नेपालमा आइतबार ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार सोमबार थप ११५४ सहित ६५ हजार २७६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा १६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

एकैदिन कोरोना संक्रमण निको भई १००५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । जुन कुल संक्रमितको ७२.३७ प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा थप ६७४ जनामा संक्रमित थपिएका छन् । काठमाडौँका ५३८, ललितपुरका ६२ र भक्तपुरका ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १६ हजार ४३१ पुगेको छ । जसमा काठमाडौँमा कुल १३ हजार ६६५, ललितपुरमा १ हजार ७२३ र भक्तपुरमा १ हजार ४०९ जना रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप ९ हजार ५३३ जनासहित हालसम्म ९ लाख २३ हजार ८२३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

उनका अनुसार हाल ७ हजार ४०३ जना क्वारेन्टाइनमा र १७ हजार ६११ जना आइसोलेसनमा रहेका छन् । देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ९२१ जना र होम आइसोलेसनमा ८ हजार ६९० जना रहेका छन् । देशभर ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने १९६ जना आइसियूमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया