स्याङ्जा । पहिरामा पुरिएर स्याङ्जाको वालिङमा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १४ तमादीका एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तमादीमा बिहीबार बिहान ६ बजे घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएका १० जनामध्ये ९ जनाको मृत्यु भएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा ७ महिनाका शिशुसमेत रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् ।

यसैगरी, पाहुना बस्न मायाको घरमा गएकी उमाको पनि पहिरोमा मृत्यु भयो । उमा र माया दिदीबहिनी हुन् । मायासहित उनका ४ जना छोराहरु दीपक, कुलदीप, विक्रम र विवशको पनि मृत्यु भएको छ । विनिता कुलदीपकी श्रीमती हुन् । बिनिता र कुलदीपसहित उनका ७ महिने शिशलाई पनि पहिरोले ज्यान लिएको छ ।

पहिरोमा परी मायाकी छोरी १६ वर्षीया मनिषा नेपाली घाइते भएकी छन् । उनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । बिहीबार बिहानै स्याङ्जाकै कालिगण्डकी गाउँपालिका(४ मा पहिरोमा पुरिएर १६ वर्षीय विष्णु परिवारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया