काठमाडौँ । नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार बिहीबार थप १४९७ सहित ६९ हजार ३०१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

एकैदिन कोरोना संक्रमण निको भई ४५७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४११ पुगेको छ । जुन कुल संक्रमितको ७२.७४ प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा थप ७५५ जना संक्रमित थपिएका छन् । काठमाडौँका ६०९, ललितपुरका ९५ र भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १८ हजार ४७० पुगेको छ । जसमा काठमाडौँमा कुल १५ हजार २७७, ललितपुरमा १ हजार ९३९ र भक्तपुरमा १ हजार ६१८ जना रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप ११ हजार ४४९ जनासहित हालसम्म ९ लाख ४४ हजार ४७४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ६ हजार ५६५ जना क्वारेन्टाइनमा र १८ हजार ४३७ जना आइसोलेसनमा रहेका छन् ।

देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ६१४ जना र होम आइसोलेसनमा ९ हजार ८२३ जना रहेका छन् । देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २३२ जना आइसियूमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया