चितवन । भरतपुर अस्पताललाई प्रदेशस्तरीय सरुवारोग अस्पताल बनाइने भएको छ । पचास श्ययाको अस्पताल निर्माणका लागि भरतपुर अस्पताललाई आवश्यक प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्राचार गरेको छ ।

अस्पताल विकास समतिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार मन्त्रालयले सरुवारोग रोकथाम, नियन्त्रण र उपचार एवम् स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सेवा सहितको अस्पताल निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रमअन्तर्गत यहाँ प्रदेशस्तरको अस्पताल निर्माण गरिने भएको हो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा त्यस प्रकारको ३ सय श्ययाको केन्द्रीय र न्यूनतम ५० श्ययाको प्रदेशस्तरीय अत्याधुनिक सुविधासम्पन्न अस्पताल स्थापना गर्ने जनाइएको थियो ।

सोहीअनुरुपको प्रदेशस्तरीय अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापनाका लागि मन्त्रालयले ८ करोड निकासा दिने गरि अस्पताललाई पत्राचार गरेको अध्यक्ष डा अधिकारीको भनाइ छ ।

मन्त्रालयले पत्राचार गरेसँगै आवश्यक प्रक्रिया अघि बढाइएको छ । अस्पतालको गुरुयोजनामा सरुवा रोग अस्पताल बनाउने ठाउँ नछुट्याइएकाले कुन ठाउँ उपयुक्त हुन्छ भन्ने विषयमा गृहकार्य थालिएको उनले जानकारी दिए ।

उनले भने “एक वर्षभित्रै काम गर्नुपर्ने भएकाले ठाउँ पहिचान गरी तत्काल काम अघि बढाउँछौँ ।” संघीय अस्पताल भएको र चितवन सहित छिमेकी जिल्लाहरुबाट समेत बिरामी आउने भएकाले मन्त्रालयले भरतपुर अस्पताललाई प्राथमिकतामा राखेर अस्पताल निर्माणका लागि छनोट गरेको हो ।

यसैगरी अस्पताललाई संघीय सरकारले विशिष्टिकृत आकास्मिक सेवा भवन निर्माणका लागि मन्त्रालयले ९ करोड विनियोजन गरेको छ । मन्त्रालयले अस्पताललाई पत्राचार गरि ५० श्ययाको आकास्मिक कक्ष निर्माणका लागि निर्णय भएकाले प्रक्रिया अघि वढाउन निर्देशन गरेको छ ।

अध्यक्ष डा अधिकारीले वजेटको सुनिश्चितता भएसँगै निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिए । हालको आकस्मिक कक्ष साँघुरो र जीर्ण भएको छ । आकस्मिक कक्षमा बिरामीको बढ्दो चापसँंगै अव्यवस्थित भए पछि मन्त्रालयमा छुट्टै कक्ष निर्माणका लागि बजेट माग गरिएको थियो ।

मन्त्रालयले अस्पताललाई गत वर्ष निकासा गरेको ८ करोडलाई निरन्तरता दिएको छ । यसैगरी मन्त्रालयले मदनभण्डारी ट्रमा सेन्टरका लागि १ करोड, फर्नीचरका लागि रु ५० लाख, अस्पतालमा औजार खरिदका लागि ३ करोड, बन्दै गरेको ‘सि’ ब्लकका लागि ५ करोड निकासा दिने भएको जनाइएको छ ।

अस्पतालमा खानेपानी र फोहोर व्यवस्थापनका लागि खानेपानी तथा सरसफाई मन्त्रालयले सहयोग गर्ने भएको छ । उनेले भने “ १२ करोड हाराहारी खर्च हुने देखियो । यसका लागि स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको जानकारी आएको छ ।” रासस

तपाईको प्रतिक्रिया