चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्र जलमग्न भएपछि निकासका लागि पुरानो नहरको खोतल्न थालिएको छ । नारायणी लिफ्ट सिँचाइ आयोजनाको पानी बग्ने नहरहरु ठाउँठाउँमा पुरेर सडक बनाएसँगै सहरी क्षेत्रमा निकासको अभाव हुँदा जलमग्न हुन पुगेको हो ।

भरतपुर महानगरपालिका­ १० मा अध्यक्ष निर्वाचित भएपछि आफैँले नहर पुरेर सडक बनाएका अरुणपीडित भण्डारीले शुक्रबार आफैँ डोजरमा चढेर बाटोलाई नहर बनाउन सुरु गरेका छन् । नहर पुरिएपछि भरतपुर महानगरपालिका वडा नम्बर १०, ११, १२ र ७ डुवानमा परेका छन् । अधिकांश सरकारी कार्यालय डुबेका छन् ।

ठाउँठाउँमा अव्यवस्थित रुपमा गरिएको जग्गाको खण्डीकरण र संरचनाले पानीको प्राकृतिक बहाव रोकिँदा पानी जम्ने समस्या आएको छ । नहरको कतिपय भाग पुरेर सडक बनाइएको छ भने कतिपय ठाउँमा निजी तथा सार्वजनिक भवनसमेत बनाइएको छ । महानगरमा वर्षाको पानी जाने उचित निकास हुन नसक्दा सहरी क्षेत्र डुबानमा पर्ने गरेको हो । वर्षामा सहरी क्षेत्रमा परेको पानी नहर हुँदै जाने गर्दथ्यो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले तत्काल पानीको निकासका लागि पहिले नारायणी लिफ्टको नहर भएको नहरचोकदेखि रिजालचोक हुँदै केरुङ्गासम्म खनेर कुलो बनाइने बताइन् । त्यसैगरी पूर्व­पश्चिम राजमार्ग र वाइपास सडकमा व्यवस्थित ढल निर्माण गरी केरुङ्गा र पुङ्गी खोलामा मिसाइने दाहालले जानकारी दिइन् । पुनः निर्माण हुँदै गरेको हुलाकी सडकको मुख्य बस्ती भएको ठाउँमा ढलको व्यवस्था गरिनेछ । त्यसलाई पनि केरुङ्गामा मिसाइने उनले बताइन् ।

नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख खेमबहादुर पाठकका अनुसार नारायणी लिफ्टको बी पम्प हाउसबाट तानेको पानी सि एल १ क्यानलमार्फत् आउने नहर पूरै मासिएको छ । भरतपुरको बसेनीबाट नहरचोक, मेडिकल कलेज, गेष्टहाउस चौर, कारागार, रिजालचोक हुँदै उक्त नहर प्रेमबस्तीसम्म पुगेको छ ।

नारायणी लिफ्ट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले सरकारी निकायकै संरक्षणमा नहर अतिक्रमण हुँदा अहिले शहरी क्षेत्र डुबेको र खेतीयोग्य जमिनमा सिँचाइ अभाव भएको बताए । उनका अनुसार नहरको अन्तिम बिन्दु प्रेमबस्तीलगायतका क्षेत्रमा नहरको पानी पुग्न नसक्दा सिँचाइमा समस्या हुने गरेको छ ।

लिफ्टले भरतपुर महानगरपालिकाको वडा नम्बर ४, ५, ६, ८, ९, ११, १२, १४, १५ लगायतका वडाका तीन हजार ५०० हेक्टर प्रत्यक्ष रुपमा सिँचित गर्दै आएको छ । विसं २०४० मा स्थापना गरिएको यस लिफ्ट परियोजनाबाट आएको पानी खगेरी सिँचाइमा मिसाएर पश्चिम चितवनका अन्य वडाहरुमा पनि सिँचाइ गरिँदै आएको छ । रासस #सांकेतिक तस्बिर

तपाईको प्रतिक्रिया