महेश पाण्डे
चितवन । छुटको अफरसंगै पर्यटकलाई स्वागत गर्न तयार रहेको सौराहाका पर्यटन ब्यवसायीहरुले बताएका छन् । ४१ औं बिश्व पर्यटन दिवसको अवसरमा क्षेत्रीय होटल संघ चितवनले सौराहामा आज (आईतबार) आयोजना गरेको बिशेष कार्यक्रममा उपस्थित पर्यटन ब्यवसायीले सो कुरा बताएका हुन् । बिश्व पर्यटन दिवसको अवसरमा अघिल्ला वर्षमा जस्तो उल्लास र धेरै कार्यक्रमहरु यस वर्ष हुन सकेनन । बिश्वब्यापी महामारी कोरोना भाइरसका कारण पर्यटकहरु निर्धक्क घुम्म सक्ने स्थिती छैन । त्यहि कारणले गर्दापनि पर्यटकको आगमन हुन नसक्दा बिश्व पर्यटन दिवसको दिन भएतापनि कुनै उमंग र उत्साह पर्यटक ब्यवसायीमा देखिन सकेको छैन ।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईका अनुसार चितवनका पर्यटन ब्यवसायीहरुले यस दिनमा हवाई यात्रा गरेर आएका पर्यटक र यातायातबाट आएका आन्तरीक र बाह्य पर्यटकलाई पञ्चेबाजा घन्काउदै स्वागत गर्ने र सौराहामा रहेका पर्यटकहरुसंगनै रमाएर मनाउने गरेका थिए । तर यो वर्ष त्यो सम्भब नभएपनि अब सौराहा खुलिसकेको र पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश दिन कार्यक्रमको आयोजना गरिएको बताए । उनले १,२ वटा छाप्रोबाट सुरु भएको सौराहाको पर्यटन ब्यवसाय अहिलेको अवस्थामा आएकोमा पुन कोरोना भाइरसको कारणले गर्दा फेरि सुन्यमा झरेको बताए । उनले अब सन् २०२२ सम्म बाह्य पर्यटक आउन सम्भव नदेखिएकाले यो वर्ष सरसफाई, २०२१ लाई प्रचार प्रसार गरेर सन् २०२२ मा पर्यटक आउने बातावरण बनाउन लाग्नुपर्ने बताए ।

भट्टराईले अहिलेको अवस्थामा चुनौती धेरै रहेकाले केहि समयमा घुमौ चितवन वा घुमौ सौराहा अभियान पनि चलाउन लागेको जानकारी दिदै सौराहा आउने पर्यटकलाई २० देखि ३० प्रतिशत सम्मको छुटको प्याकेजको ब्यवस्था गरिएको बताए । उनले सौराहा असोज १ गतेदेखिनै खुलिसकेको जानकारी दिदै अहिले ब्यवसायीले कमाउने भन्दापनि व्यवसाय टिकाउन अगाडी बढेको जानकारी दिए ।

कार्यक्रमकी प्रमुख अतिथि तथा रत्ननगर नगरपालिकाकी उप मेयर बिमला दुवाडीले ६ महिना देखि ठप्प रहेको पर्यटन ब्यवसाय अब सुरक्षित ढंगले चलाउनैपर्ने बेला आएको बताईन । उनले ब्यवसायीले छुट सहितको प्याकेज ल्याउन लागेकोमा खुसी ब्यक्त गर्दै त्यसले पनि पर्यटक आगमनमा टेवा पुग्ने बताउदै नगरपालिकाले यो अवस्थामा के गर्न सक्छ भने सरोकारवाला सबै बसेर छलफल गर्न आग्रह पनि गरिन ।

रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले अब केहि वर्ष बाह्य पर्यटक आउने अवस्था नरहेकाले आन्तरिक पर्यटकमात्रै अबको बिकल्प भएको बताए । उनले सरकारले ल्याउन लागेको हप्तामा २ दिने बिदा दिने नितिले पनि आन्तरिक पर्यटन बृद्धिमा टेवा पुग्ने बताए । खतिवडाले अहिले चितवन राष्ट्रिय निकुञ्ज प्रवेषको टिकटपनि खुलिसकेकोले हात्ती सफारी र जिप सफारीगर्न र सौराहामा अहिले सम्म पनि कोरोना भाइरसको बिरामी नभेटिएकाले सौराहा आउन नडराउन आग्रह गर्दै सबै सुरक्षाको उपाए अपनाउदै पर्यटन ब्यवसाय अगाडि बढ्ने बताए ।

युनाईटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष ऋषी तिवारीले सौराहामा पर्यापर्यटनलाई अगाडी बढाउन आफुहरु तयार रहेको बताउदै सुरक्षाको उपाए अपनाएर हात्ती सफारी पनि सुरु गरिएको जानकारी दिए । उनले हात्ती बिनाको सौराहाको कल्पना समेत गर्न नसकिने बताउदै सौराहा आउने ९० प्रतिशत पर्यटक कुनै न कुनै रुपमा हात्तीसंग रमाउने गरेको बताए । तिवारीले हालका दिनमा हात्ती सञ्चालनका लागि ३ वटा अवधारणा हात्तीलाई सहकारीकरण गर्ने, हात्ती सेन्चुरी (एनिमल राइट्स) अवधारणा र प्रजननको लागि युवा हात्तीको प्रयोग गर्ने अवधारणा लिई अगाडी बढेको बताउदै पर्यटकका लागि सौराहा खुलि सकेको र हात्ती सफारीका लागि पनि आफुहरु तयारी अवस्थामा रहेको जानकारी दिए ।
कार्यक्रममा बाघमारा सामुदायीक वनका अध्यक्ष जितु तमाङ्ग, कुमरोज सामुदायाीक वनका अध्यक्ष गणेश श्रेष्ठ, साना पर्यटन ब्यवसायी संघकी अध्यक्ष सरस्वती चालिसे लगाएतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया