काठमाडौँ । नेपालमा मंगलबार १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा १० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

एकैदिन कोरोना संक्रमण निको भई ७३१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । जुन कुल संक्रमितको ७२.६१ प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा थप ९३४ जना संक्रमित थपिएका छन् । काठमाडौँका ७४७, ललितपुरका ११४ र भक्तपुरका ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या २२ हजार ४०९ पुगेको छ । जसमा काठमाडौँमा कुल १८ हजार ३९२, ललितपुरमा २ हजार ४२८ र भक्तपुरमा १ हजार ९१३ जना रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १० हजार ८९१ जनासहित हालसम्म १० लाख ९ हजार २९८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ५ हजार ७७८ जना क्वारेन्टाइनमा र २० हजार ३९६ जना आइसोलेसनमा रहेका छन् ।

देशभरका संस्थागत आइसोलेसनमा ९ हजार ६८९ जना र होम आइसोलेसनमा १० हजार ७०७ जना रहेका छन् । देशभर ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २१३ जना आइसियूमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया