काठमाडौँ । नेपालमा बुधबार १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।

एकैदिन कोरोना संक्रमण निको भई १०५७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । जुन कुल संक्रमितको ७२।५१ प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा थप ९०२ जना संक्रमित थपिएका छन् । काठमाडौँका ६९७, ललितपुरका ११२ र भक्तपुरका ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या २३ हजार ३११ पुगेको छ । जसमा काठमाडौँमा कुल १९ हजार ८९, ललितपुरमा २ हजार ५४० र भक्तपुरमा २ हजार ६ जना रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १२ हजार २०५ जनासहित हालसम्म १० लाख २१ हजार ५०३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ५ हजार ४२८ जना क्वारेन्टाइनमा र २० हजार ८९१ जना आइसोलेसनमा रहेका छन् ।

देशभरका संस्थागत आइसोलेसनमा १० हजार ८७ जना र होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् । देशभर ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २०१ जना आइसियूमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया