महेश पाण्डे
चितवन, रत्ननगर । बिश्वब्यापी महामारीको रुपमा रहेको कोराना भाइरसको न त कुनै औषधी छ, न त कुनै भ्याक्सिननै हालसम्म बन्न सकेको छ । यस रोग लागेमा के गर्ने र कसरी यसलाई जित्ने भन्ने चिन्ता आजका दिनमा बिश्वका हरेका मानीसको मनमा रहेको छ । यस रोगले के बालक, के युवा, के बृद्ध हरेक उमेर समुहलाई आक्रमण गर्ने गरेको छ । रोग लाग्न नदिन हालका दिनमा सामाजिक दुरिका अतिरिक्त माक्स, सेनेट्राइजर, साबुन पानीले हात धुने लगाएतका कामहरु गर्ने गरिएको छ । तर यति गर्दा गर्दै पनि कोरोना भाइरसको संक्रमण भइहालेमा के गर्ने होला भन्ने चिन्ता भने सबैको मनमा रहदै आएको छ ।
यसैबिच नगरको कामको दौरानमा रहदा रहदै रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन कोरोना संक्रमित भए । करिब १७ दिनमा कोरोना संक्रमण मुक्त भएर शुक्रबार आफ्नो काममा फर्कीएका मेयर वनले पत्रकार सम्मेलन गरेर आफ्नो अनुभव सबैका माझमा राखे । उनले आयुर्वेद्धिक, एलोपैथीक औषधी र बाफ लिएरनै कोरोना जितेको बताए । वनले कोरोना संक्रमण भएपछि आफुले खान बाँकी कुनै चिज नरहेको बताए । हरेक दिन आफुलाई फोन मार्फत सुभ चिन्तकहरुले केहि न केहि खान सुझाव दिने गरेको बताउदै वनले कोरोना जित्नैकै लागि कहिले तुलसीको पात, कहिले निमको पात, कहिले कागतीको पात, बेसार पानी, हट लेमन, लसुन प्याज देखि लिएर गुर्जो, बोझो, अलैंची, असोगन्धा लगाएतका आयुर्वेद्धिक औषधीको सेवन गरेको बताए । उनले एलोपैथीकमा भने घाँटीको समस्या देखिएकाले डाक्टरको सल्लाहा अनुशार एजिर्थोमाइसिन को प्रयोग गरेको र नियमित रुपमा कहिले सादा पानी त कहिले तुलसी पानीको बाफ लिने गरेको बताए । एस बाहेक पनि भिटामीन सी र भिटामीन डि को पनि प्रयोग गर्ने गरेको बताए ।

सबैको सुझाव उत्तम लागेर सबैले भने बमोजिमका घरेलु औषधीको प्रयोग गरे पनि एकदिन राती आफुलाई सास फेर्न गाह्रो भएको बताउदै वनले भने “मलाई अकस्मात अल्लि सास फेर्न गाह्रो भएझै भयो, खोक्दा रगत पनि देखियो अनि डां भोजराज अधिकारीलाई फोन गरे, उहाले अस्पतालमा आउन सुझाव दिएर लिन एम्बुलेन्स पठाउछु भने तर मलाई ग्यास्ट्रिकले होकि जस्तो लागेर एकछिन घरमाथीनै हिड डुल गरे, पछि आफै ठिक भयो ।”

मेयर वनले पछि यो कुरा डाक्टरसंग सल्लाहा गर्दा सबै चिज लगातार खाइरहदा त्यसले गर्मी बढी भएकाले त्यस्तो समस्या देखिएको भनेपछि र खानाको तालीका बनाएर दिएपछि सोहि अनुसार खाने गरेको र त्यसपछि भने केहि समस्या नदेखिएको बताए । उनले कोराना जित्न सबैभन्दा पहिले मानिसको आत्मबल बलियो हुनुपर्ने बताउदै होम आइसोलेसननै सबैभन्दा उत्तम बिकल्प भएको बताए ।

रत्ननगरमा हालसम्म ३१६ जना कोरोना संक्रमितः
कोरोना भाइरस संक्रमण देखिए पश्चमत रत्ननगरमा हालसम्म ३१६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जस मध्य ७८ प्रतिशत संक्रमित कोरोना मुक्त भएर घर फर्किएको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पौडेलले सोहि कार्यक्रममा जानकारी दिए ।
पौडेलका अनुसार हाल सम्म १ हजार ४ सय ४४ जनाको पिसिआर नमुना परीक्षण गरिएकोमा ३१६ जनामा संक्रमण पुष्टि भएको र ती मध्य २४८ जना अर्थात ७८ प्रतिशत निको भएको तथा ६५ जना बिरामीमा कोरोना भाइरस सक्रिय अवस्थामा रहेको छ । जस मध्य ५७ जना होम आइसोलेसन, ५ जना सामुदायिक आइसोलेसन र ३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । उनिहरु सबै लक्षण बिहिन रहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए ।

कोरोना संक्रमणका कारण रत्ननगरमा हाल सम्म ३ जनाको अर्थात १ प्रतिशतको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला हुन । रत्ननगरमा हाल सम्म ३९५ जना सामुदायिक क्वारेन्टाइन, ३१० जना होम क्वारेन्टाइनमा बसिसकेका छन् भने ४०५ जनाको आरडिटी परिक्षण गरिएको छ । रत्ननगरमा दुई वटा उद्योग मा संक्रमण फैलिएको कारण संक्रमितको संख्या धेरै देखिएको रत्ननगरका मेयर नारायण वनले बताए । मेयर वन स्वयम्मा कोरोना संक्रमण देखिएर निको भइसकेको छ । रत्ननगरमा सबै भन्दा धेरै वडा नम्बर १४ मा ६५ जना र सबैभन्दा कम वडा नम्बर ६ मा १ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।

तपाईको प्रतिक्रिया