काठमाडौँ । नेपालमा आइतबार २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

मृत्यु हुनेमा चितवनकी ५५ वर्षीया महिला, काठमाडौँका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरकी पाँच दिनकी बालिका, बाँकेकी २५ वर्षीया महिला र ६० वर्षीय पुरुष तथा कञ्चनपुरकी २९ वर्षीय महिला रहेका छन् ।

एकैदिन कोरोना संक्रमण निको भई १३२९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । जुन कुल संक्रमितको ७३.७९ प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा थप १५९९ जना संक्रमित थपिएका छन् । काठमाडौँका १३७३, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या २८ हजार ६६८ पुगेको छ । जसमा काठमाडौँमा कुल २३ हजार ५६०, ललितपुरमा ३ हजार ६६ र भक्तपुरमा २ हजार ३६६ जना रहेका छन् ।

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १२ हजार ७८४ जनासहित हालसम्म १० लाख ७४ हजार ४४८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ७ हजार ४५१ जना क्वारेन्टाइनमा र २२ हजार २१९ जना आइसोलेसनमा रहेका छन् ।

२२ हजार २१९ जना सक्रिय सङ्क्रमितमध्ये ११ हजार ८९३ जना होम आइसोलेसनमा र १० हजार ३२६ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार देशभर २२६ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ३४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया