रुपन्देही । प्रदेश नं ५ को प्रदेशसभामा स्थायी राजधानी र नामकरणका विषयलाई लिएर विपक्षी दल नेपाली कांग्रेसले सोमबार कुर्सी, टेबुल र माइक तोडफोड गरेको छ । होहल्ला र विरोधका बीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएपछि आक्रोशित कांग्रेसका प्रदेशसभा सदस्य तोडफोडमा उत्रिएका थिए ।

प्रदेशसभामा सदस्य बसी उद्दिन खाँले कुर्सी तोडफोड गर्न सुरु गरेपछि सदस्य रमा अर्याललगायतले प्रदेशसभाका विभिन्न भौतिक संरचना तोडफोड गरेका थिए ।

उनीहरु सभामुखलाई घेरा गर्न रोष्ट्रममा आउन लाग्दा मर्यादापालकसँग घम्साघम्सी परेको थियो । सभामा तोडफोड जारी रहँदा मुख्यमन्त्री शङ्कर पोखरेल बैठकबाट बाहिरिएका थिए । मुख्यमन्त्री पोखरेललाई आइतबार प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए ।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका थिए । अपराह्न १ बजे सुरु भएको बैठक २ बजे सरे पनि सहमति नभएपछि ३ बजे सुरु भएको थियो ।

सभामुख घर्तीले विरोधको अधिकारलाई सम्मान गर्दै प्रदेशसभालाई अनिर्णयको बन्दी बनाउन नहुने भनी बैठक सुरु गरेकी थिइन् । त्यसअघि सार्वजनिक महत्वका विषयमा प्रदेशसभा सदस्यद्वय अर्याल र सन्तोष पाण्डेलाई समय दिइए पनि उनीहरुले बैठकमा बोलेनन् । बैठक मंगलबार बस्ने गरी स्थगन भएको छ ।

राजधानी सार्ने विषयलाई लिएर बुटबलमा केही दिनदेखि तनाव बढेको छ ।

तपाईको प्रतिक्रिया