काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ । मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्नसमेत सबैलाई अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले भेटघाट गर्नै पर्ने भए कम्तीमा दुई मिटरको दूरी अनिवार्य रुपमा कायम गर्न आग्रह गरे । प्रवक्ता गौतमले भने, “चाड पर्वको समयमा सकेसम्म घरबाट ननिस्कने, जानैपर्ने भएमा मास्क, कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुनपानीले हात धुने र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ ।”

मन्त्रालयले धार्मिकस्थलमा हुने हरेक भेला, कार्यक्रममा बढीमा २५ जनामात्रै भेला हुने व्यवस्था गर्न, अभिवादन गर्दा भौतिक दुरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्न र शरीर छुने वा अंगालो मार्ने कुनै प्रकारको अभिवादन नर्गन पनि सबैमा आग्रह गरेको छ ।

प्रवक्ता गौतमले भने, “नाक, आँखा, मुख सकेसम्म नछुने यदि छुनै परेमा हात धोएर वा हातमा सेनिटाइजर प्रयोग गरेर मात्र छुने, खोक्दा, हाछ्यँु गर्दा रुमाल या टिसियु पेपरले मुख छोप्ने, सो सम्भव नभएमा कुइना दोबारेर छोप्ने, सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्भव भएसम्म पैसाको कारोवार गर्दा विद्युतीय माध्यमबाट कारोबार गर्ने बानी बसाल्नुपर्छ ।”

उनले उच्च जोखिममा रहेका व्यक्तिले घर बाहिर हुने मेलामा सहभागी नहुन पनि आग्रह गरेका छन् । उनका अनुसार मन्त्रालयले ज्वरो, खोजी वा स्वासप्रश्वासमा समस्या भएका व्यक्ति, ६० वर्षभन्दा बढी उमेर भएका व्यक्ति, १२ वर्षमुनिका बालबालिका, गर्भवती तथा सुत्केरी महिला, रोग प्रतिरोधी क्षमता कम भएका व्यक्ति, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, मिर्गौला, कलेजोसम्बन्धी समस्या, दमलगायत दीर्घरोग भएका व्यक्तिहरु, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति, शरीरमा मेडिकल उपकरण राखेका व्यक्तिलाई कोभिड–१९ बाट सुरक्षित राख्नुपर्छ ।

कार्यक्रम स्थलमा धूमपान र मध्यपानको पूर्ण रुपमा निषेधित गरिएको तथा जनस्वास्थ्यको पालन नगर्ने र जथाभावी गर्ने व्यक्तिलाई स्थानीय प्रशासनले सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयले जथाभावी फोहोर नफाल्न पनि सबैमा आग्रह गरेको छ । सोही अवसरमा मानसिक रोग विशेषज्ञ डा केदार मरहठ्ठाले मानसिक स्वास्थ्यको नियमित जाँच गर्न आग्रह गरे । रासस

तपाईको प्रतिक्रिया