काठमाडौँ । नेपालमा शुक्रबार ३७४९ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।

एकैदिन कोरोना संक्रमण निको भई ३५२२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ । जुन कुल संक्रमितको ६९.८० प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा थप २४०२ जना संक्रमित थपिएका छन् । काठमाडौँका १७८४, ललितपुरका ३७४ र भक्तपुरका २४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ५० हजार ९८९ पुगेको छ । जसमा काठमाडौँमा कुल ३८ हजार ३६९, ललितपुरमा ६ हजार ३८० र भक्तपुरमा ४ हजार ७२ जना रहेका छन् ।

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १६ हजार ५३१ जनासहित हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ८०८ जना क्वारेन्टाइनमा र ३७ हजार ८८२ जना आइसोलेसनमा रहेका छन् ।

सक्रिय सङ्क्रमितमध्ये २५ हजार ४६ जना होम आइसोलेसनमा र १२ हजार ३३६ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार देशभर ३१५ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ७७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया