अजित अधिकारी
चितवन- माडी नगरपालिका वडा नं ६ स्थित स्याउलीवासमा रहेको श्री नवदुर्गा भवानीको मन्दिरमा शनिबार घटस्थापनाका दिन दुर्गा भवानीको बाहानको रुपमा रहेको बाघको मूर्ति स्थापना गरिएको छ ।

कोरोना महामारीलाई मध्यनजर गरी सामाजिक दुरी कायम गरी उच्च सतर्कताका साथ माडी ६ स्याउलीवासमा रहेको श्री नवदुर्गा भवानीको मन्दिर प्राङ्गण परिसरमा पञ्चेबाजा, भजनकीर्तन र कलश यात्रा सहित शोभा यात्रा गरिएको मन्दिर व्यस्थापन समितिका अध्यक्ष सागर गोतामेले नेपालीको आवाज डटकमसँग बताए ।

उनले माडी क्षेत्रको विकासको लागि सबै जना मिलेर लाग्नुपर्ने बताए । साथै उनले माडी क्षेत्र धार्मिक ऐतिहासिक स्थलका रुपमा मात्र नभई समग्र पर्यटकीय क्षेत्रका रुपमा समेत माडी अगाडि रहेको जिकिर गरे । यसैगरी सो मन्दिरमा दैनिकी पुजा पाठको लागि श्री नबदुर्गा भवानी मन्दिर ब्यबस्थापन समितिले मिन बहादुर परियारलाई चयन गरेको छ । साथै परियारले मन्दिर निर्माणको लागि सुरुवाती दिनमा भुमी दान समेत गरेको हुँदा उनको उच्च मुल्यांकन र प्रशंसा गर्दै सो मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष सागर गोतामेले परियारलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए । यसैगरी माडी ६ स्याउलीबास निवासी छबिलाल तामाङ्गले मन्दिरको लागि एक थान घण्टी र आर्थिक रकम सहयोग गरेकोमा अध्यक्ष गोतामेले तामाङ्ग प्रती खुशी व्यक्त गरे ।
गोतामे माडी क्षेत्रका एक सफल व्यवसायी रहनुका साथै माडीका परिचित समाजसेवी समेत हुन् । उनले माडीका धार्मिक ऐतिहासिक स्थलहरुको खोजी निर्माण र संरक्षण एवम् सम्बर्द्धन गर्न सकिएमा माडी पर्यटकीय क्षेत्र र गन्तव्यको रुपमा अझ अगाडि बढ्न सक्ने तर्क गरे ।

पछिल्लो समय माडी धार्मिक ऐतिहासिकस्थलका रुपमा मात्र नभई कृषि पर्यटनका रुपमा समेत अगाडि छ । पर्यटकीय क्षेत्रका रुपमा नेपालकै सयौँ गन्तव्य नगरीको रुपमा विकास गरिएको मूर्ति नै मूर्तिको फूलबारीको रुपमा परिचित धार्मिक क्षेत्र सोमेश्वरगढीले माडीको धार्मिक क्षेत्रको विकास र पर्यटकहरुको संख्यामा वृद्धि हुँदै गएको छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्म भुमी र अयोध्याधाम माडीमा पर्दछ । भनी उदघोष गरे पश्चात माडी यतिखेर चर्चाको शिखरमा छ ।

यसैगरी विभिन्न क्षेत्रहरूवाट माडी क्षेत्रको अवलोकन गर्नको लागि माडीमा रहेका अन्य धार्मिक क्षेत्रहरु शनि तथा कालिका मन्दिर, सम्भाबित राम जन्म भुमीको रूपमा रहेको घडेनी डाँडा देखिको क्षेत्र, रेवा तथा त्रिवेणीधाम, बैकुण्ठेश्वर धाम, गोदक, छरछरे, बिक्रम बाबा, वाल्मीकि आश्रम, परशुराम कुण्ड लगायतका माडीका धार्मिक क्षेत्रहरुमा पर्यटकहरुको संख्यामा वृद्धि भएको समेत अध्यक्ष गोतामेले बताए ।
साथै उनले श्री नब दुर्गा भवानी मन्दिर निर्माणमा महत्वोपुर्ण भुमिका खेल्नुहुने सबै प्रती आभार व्यक्त गर्दै, बिजया दशमी, शुभ दिपावली, मह पुजा र छठ पर्बको सबैमा शुभकामना दिए ।

तपाईको प्रतिक्रिया