काठमाडौँ । नेपालमा थप ३७४९ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ । पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२९ पुगेको छ ।

एकैदिन कोरोना संक्रमण निको भई १८०० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । जुन कुल संक्रमितको ६९.४८ प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा थप १७४६ जना संक्रमित थपिएका छन् । काठमाडौँका १४५१, ललितपुरका १५२ र भक्तपुरका १४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ५२ हजार ७३५ पुगेको छ । जसमा काठमाडौँमा कुल ३९ हजार ८२०, ललितपुरमा ६ हजार ५३२ र भक्तपुरमा ४ हजार २१५ जना रहेका छन् ।

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १५ हजार ४३८ जनासहित हालसम्म १२ लाख ६९ हजार ६०५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ७१५ जना क्वारेन्टाइनमा र ३८ हजार ७३७ जना आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयका अनुसार देशभर २९० जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ६६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया