धनगढी । धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । शनिबार राति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएकामा आइतबार बिहान नजिकैको मोहना नदीमा शव फेला परेको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेर शव नदीमा फालिएको अवस्थामा फेला परेको र अनुसन्धान सुरु गरिएको जानकारी दिए । विकसँगै गस्तीमा हिँडेका सोही कार्यालयका प्रहरी हबल्दार रामबहादुर साउद पनि सम्पर्कविहीन छन् ।

शनिबार राति प्रहरी सहायक निरीक्षक विक र हबल्दार साउदसँगै गस्ती गर्न गएकामा राति अबेरसम्म पनि सम्पर्क हुन नसकेपछि खोजतलास गरिएको थियो । सम्पर्कमा नरहेका हबल्दारको खोजी भइरहेको छ ।

नदी पारी भारतीय क्षेत्रबाट अवैधरुपमा मालसामान भित्रिने गरेको छ । अवैधरुपमा सामान भित्र्याउने समूहले प्रसनि विकको हत्या गरेको हुन सक्ने बताइएको छ । गस्तीमा जाँदा प्रयोग गरिएको मोटरसाइकल शव भेटिएको स्थानदेखि करिब दुई किलोमिटर पश्चिमतर्फ फेला परेको छ ।

मृतक विकको घरठेगाना कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिकाका रहेको जनाइएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीको नेतृत्वको टोली आइतबार बिहान घटनास्थल पुगेको थियो । रासस

तपाईको प्रतिक्रिया