चितवन । चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको छ । भरतपुर अस्पतालमा उपचाररत बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।

यसैगरी, चितवन मेडिकल कलेजमा रत्ननगर १३ जयमंगलाका ४० वर्षीय एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडितसमेत रहेका उनमा असोज २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा बुधबार अपरान्ह ४ः२८ बजे उनको मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । योसँगै रत्ननगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

तपाईको प्रतिक्रिया