चितवन । चितवन जिल्ला अदालत बार एसोेसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।

शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्गठन (पिएलए) का उमेदवार अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्दी नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घ (डिएलए) का डा. हरिहर पोख्रेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अधिकारीले १ सय ७ मत प्राप्त गरे भने पोख्रेलले ८० मत प्राप्त गरे ।

एसोसिएसनको उपाध्यक्षमा मुन्नाविक्रम खाती निर्वाचित भएका छन् । डिएलएका उमेदवार उनले आफ्ना निकटतम प्रतिद्वन्दी पिएलएका रामचन्द्र देवकोटालाई पराजित गरेका हुन् । खातीले ९६ मत ल्याउँदा देवकोटाले ८२ मत प्राप्त गरे । सचिवमा पिएलएका उमेदवार विनोद मिश्र विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी डिएलएका श्रीराम दवाडी पराजित भए । मिश्रले ९९ र दवाडीले ८२ मत ल्याए ।

यसैगरी कोषाध्यक्षमा बद्रीनाथ पण्डित र सहसचिवमा शोभा भट्टराई निर्वाचित भएका छन् । सो एसोसिएसनको २१ औँ जिल्ला अधिवेशनले दुई वर्षे कार्याकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । रासस

तपाईको प्रतिक्रिया