चितवन । बागमती प्रदेशसभा सदस्य गीता वाग्लेले आफूले पाएको दसैँ भत्तामा एक महिनाको मासिक पारिश्रमिक थप गरी एक जना विद्यार्थीलाई प्राविधिक विषय पढाएकी छन् । उनले गोरखा घर भई नारायणगढमा बसोबास गर्ने हर्षिता ढकाललाई चितवन मेडिकल कलेजमा रेडियोग्राफी विषय अध्ययनका लागि भर्ना गरिदिएकी हुन् ।

वाग्ले आफैँ कलेज पुगेर ढकालको भर्नाबापत एक लाख रुपैयाँ भुक्तानी गरिदिएकी हुन् । पार्टीले दसैँ भत्ता फिर्ता गर्न निर्देशन दिएको भए पनि आफूले तलबसमेत थप गरी एक जना छात्रालाई प्राविधिक शिक्षा पढाउन लागेको बताइन् । आगामी वर्ष पनि ती विद्यार्थीको शिक्षण शुल्कमा सहयोग गर्ने उनको भनाइ छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को तीन वर्षे कार्यक्रम रेडियोग्राफीमा ढकाललाई उनले भर्ना गरिदिएकी हुन् । सामाजिक व्यक्तित्व वाग्लेले गत वर्ष मनहरीमा ओम शान्तिले निर्माण गरेको आमा घरमा दुई महिनाको तलब प्रदान गरेकी थिइन् ।

उनले रामपुरमा निर्माण हुँदै गरेको गौंतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पनि रु एक लाख प्रदान गरेकी छन् । वाग्लेले विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएकी छन् । उनी नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्य बनेकी हुन् ।

तपाईको प्रतिक्रिया