चितवन । रत्ननगर नगरपालिकाले तिहारको समयमा देउसीभैलो खेल्न रोक लगाएको छ । कोराना भाइरसको सङ्क्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै तिहारको समयमा देउसीभैलो खेल्ने, नाचगान गर्ने, पिङ हाल्ने र खेल्ने गतिविधि नगर्न नगरपालिकाले सबै नगरवासीमा आग्रह गरेको छ ।
नगरपालिकाको कार्यपालिकाको बैठकले दैउसीभैली खेल्न रोक लगाउने निर्णय गरेको मेयर नारायण वनले बताए । कार्यपालिकाले गरेको बैठकको निर्णयको बारेमा जानकारी गराउँदै प्रहरी प्रशासनलाई देउसीभैलोजस्ता अन्य क्रियाकलापहरु नियन्त्रणको लागि सक्रिय भएर लाग्न आग्रह गरिएको मेयर वनले बताए ।
यसैगरी जुवातास खेल्ने, पटका, आतिसबाजी र भुइँचम्पाजस्ता बिस्फोटक पदार्थ बिक्री, वितरण तथा प्रयोग नगर्न पनि सो नगरपालिकाले आग्रह गरेको छ ।
यसैगरी, धार्मिकस्थलहरुमा भेला भई कार्यक्रम नगर्न तिहारविशेष मेला नगर्न, बजारमा भीडभाड नगर्न, शारीरिक दूरी कायम गर्दै मास्क लगाउन र साबुनपानीले हात धुनसमेत नगरपालिकाले आग्रह गरेको छ ।












