अजित अधिकारी, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा देउसीभैलो खेल्न रोक लगाएपछि ईलाका प्रहरी कार्यालय माडीले पनि देउसीभैलो खेल्न रोक लगाउने भएको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार माडीमा पनि देउसीभैलो खेल्न रोक लगाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले नेपालीको आवाज डटकमसंग बताए ।

उनले बिश्वब्यापीरुपमा फैलिएको कोभिड १९ ले बिश्वको जनजीवन नै आक्रान्त बनिरहेका बेला चाडबाडको समयमा बढी भिडभाड हुन सक्ने सम्भावना भएकाले यस बर्ष सामुहिक रूपमा देउसीभैलो खेल्न रोक लगाइएको हो । यसैगरी चाडपर्बको समयमा सामुहिक रुपमा गरिने
शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूदलगायतका क्रियाकलाप सञ्चालन नगर्न अनुरोध गरिएको छ ।

यसैगरी निषेधाज्ञा लागू नभए पनि महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना समेत कार्यान्वयनमा ल्याइएको प्रहरी प्रमुख पौडेलले बताए । साथै उनले, आवागमन तथा जमघटले कोरोना सङ्क्रमण उच्च हुने जोखिम रहेकाले चाडपर्व मनाउँदा सजग भएर सुरक्षित साथ बसेर मनाउन आग्रह गरे । घरदैलोमै पुगेर खेलिने देउसीभैलोका कारण सङ्क्रमणको जोखिम बढ्न सक्ने भएकाले देउसीभैलो खेल्न पूर्ण रोक लगाइएको हो । यसैगरी पटाका, आतसबाजीलगायतका विष्फोटक पदार्थ ओसारपसार तथा प्रयोग नगर्नसमेत अनुरोध गरिएको छ । यसैगरी माडीमा चाडपर्बको समयमा हुन सक्ने घटना दुर्घटना र झैझगडा एबम होहल्ला हुने हुँदा यस्ता अनैतिक क्रियाकलाप गर्नेलाई कडा कारबाही गरिने भएको छ । यसैगरी जुवातास, लङ्गुर बुर्जा चिट्ठा खेल्ने जथाभावी पटाका पड्काउने लगायतका गतिविधिमा समेत निगरानी राखिएको पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया