काठमाडौं । अष्ट्रेलियामा हुने बिग बास लिगमा सन्दीपले होबार्ट हरिकेन्सबाट खेल्ने भएका छन् । होबार्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेसंगै नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको टी ट्वान्टी क्रिकेट बिग बास लिग (बीबीएल) मा होबार्ट हरिकेन्स बाट खेल्ने भएका हुन् । यो संगै सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए भने दुबै सिजनमा स्टार्स फाइनलमा पुगेको थियो ।

सन्दीपले गएको दुई सिजनमा २० इनिङ्स खेल्दा ७.२७ को इकोनमीमा २६ विकेट लिएका छन् । बीबीएलमा उनको उच्च प्रदर्शन भनेको ४ ओभरमा ११ रन दिएर तीन विकेट लिनु हो । सन्दीपले बीबीएल २०१८ मा सात इनिङ्समा ६.९७ को इकोनमीमा ११ विकेट लिएका थिए । गत सिजनमा उनले १३ म्याचमा ७.४४ को इकोनमीमा १५ विकेट हात पारेका थिए । यसअघि हरिकेन्सले विदेशी खेलाडीको रूपमा किमो पउल, कोलिन इन्ग्राम, टिम डेविड, डेविड मलानलाई अनुबन्ध गरिसकेको छ ।
सन्दीपसहित हरिकेन्सले विदेशी खेलाडीको रूपमा पाँच जनालाई अनुबन्ध गरिसकेको छ । यो पटक नयाँ नियमअनुसार प्लेइङ ११ मा तीन विदेशी खेलाडी राख्न पाइने छ । १० औँ सिजनको बीबीएल १० डिसेम्बरदेखि सुरु हुनेछ । उद्घघाटन खेलमा होबार्ट हेरिकेन्स र सिड्नी सिक्सर्सले खेल्ने छन् । सिड्नी गत सिजनको विजेता टिम पनि हो ।

तपाईको प्रतिक्रिया