काठमाडौँ । नेपालमा आइतबार १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार आइतबार थप १८ सहित १३२१ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप ५६९९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १ लाख ९९ हजार २४ पुगेको छ । जुन कुल संक्रमितको ९०.३४ प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा थप ९५७ जना संक्रमित थपिएका छन् । काठमाडौँका ७७३, ललितपुरका १३१ र भक्तपुरका ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख २ हजार ८२३ पुगेको छ । जसमा काठमाडौँमा कुल ८३ हजार ४३, ललितपुरमा १२ हजार ३६८ र भक्तपुरमा ७ हजार ४१२ जना रहेका छन् ।

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप ८ हजार ३२ जनासहित हालसम्म १६ लाख ६० हजार ७५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ६८६ जना र आइसोलेसनमा १९ हजार ९६३ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया