चितवन । बिरामी लिएर काठमाडौं जाँदै गरेकाे पिकअप भ्यान त्रिशुली नदीमा खस्दा ३ बेपत्ता भएका छन् भने १ जना सकुसल रहेका छन् । आज (बिहीबार) बिहान ०५:३० बजेको समयमा ईच्छाकामना गा.पा ४ पृथ्वी राजमार्गको नाग्दी खोला भन्ने स्थानमा प्युठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गई रहेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट अन्दाजी ५०/६० मिटर तल त्रिशुली नदीमा खस्दा पिकअप भ्यानमा चालक सहित ३ जना बेपत्ता भएका छन भने १ जना भने आफै पाैडिएर बाहिर आएकाे र उनकाे अवस्था भने सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ ।

बेपत्ता हुनेहरुमा भ्यानका चालक प्युठान झिम्रुक गा.पा. १ बस्ने बर्ष २३ का सुर्य के.सी., भ्यानमा सवार प्युठान बस्ने बर्ष ३३ की जमुना रोक्का र उनकि बिरामी छाेरी १५ वर्षकी जिनिसा रोक्का रहेकाे प्रहरीले जनाएको छ । जमुनाका श्रीमान् साेही स्थान बस्ने ३८ वर्षीय मुकुन्द बहादुर रोक्का भने नदीबाट पौडी खेली बाहिर आएको र हाल उनकाे पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेकाे र उनकाे अवस्था सामान्य रहेकाे प्रहरीकाे भनाइ छ ।

हाल पिकअप भ्यान नदीमा पुरै डुबेको र नदेखिने अबस्थामा रहेको छ भने बेपत्ताकाे नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजि कार्य जारी राखेको छ ।

तपाईको प्रतिक्रिया