अजित अधिकारी
चितवन । माडी नगरपालिका ९ स्थित धम्पुस चोकमा रहेका नमुना चेपाङ्ग बस्तीमा खानेपानी लगाएतका विभिन्न पुर्बाधारहरुको समस्या रहेको छ । चेपाङ्ग जनता आवास अन्तरगत माडी नगरपालिकाको आयोजनामा निर्माण गरिएको करिब ४० घरधुरीमा खानेपानीको समस्या रहेको स्थानीय पुर्णिमा प्रजाले नेपाली आवाज डटकमसंग बताइन् । उनका अनुसार, ७८ घरधुरी निर्माण हुनुपर्नेमा अहिलेसम्म ४० घरधुरी निर्माण भएको र करिब ३०० घरपरिवार रहेको बताइन् । आँफुहरु कुसुमखोलाबाट बसाइँसराइ गरी यस क्षेत्रमा आएको २ बर्ष भएको र अहिले नगरपालिकाले प्रत्येक घरधुरी बराबर एक कठ्ठा मात्र जमिन उपलब्ध गराएको बताइन् । तर आँफुहरुले नगरपालिकासंग कम्तीमा पनि ५ कठ्ठा जमिनको लागि माग गरेको उनको भनाइ छ । तर पनि यस विषयकमा नगरपालिकाले कुनै चासो नदेखाएको र अहिले तत्कालको लागि यस क्षेत्रमा खानेपानीको समस्या रहेको गुनासो गरिन् । यसैगरी सोही ठाउँ बस्ने पुर्ण बहादुर चेपाङ्गले नगरपालिकाले निर्माण गरिदिएको २ कोठाको भबनमा ७/८ जनाको परिवार कोचिएर बस्नुपरेको र चर्पीको समेत समस्या रहेको दुखेसो गरे । यसैगरी सोही ठाउँ बस्ने शान्ति चेपाङ्गले नगरपालिकाले घर निर्माण गरिदिएतापनि आफ्नो घर भने अहिलेसम्म निर्माण नगरिदिएको गुनासो गरिन् । उनले, घर निर्माण नहुँदा चुहिने खरको छानोमा बस्न बाध्य भएको गुनासो गरिन् । नगरपालिकाले जिबिको पार्जनको लागि समेत कुनै चासो नदेखाएकोमा आँफुहरु चिन्तित भएको बताइन् । उनी भन्छिन, बस्नको लागि राम्रो घर छैन । जिबिको पार्जन गरौं भन्दा आँफुसंग जमिन र पैसा छैन । त्यही भएर वरपर मेलापात गरेर नै आफ्नो परिवार पाल्नुपरेको गुनासो गरिन् ।

नगरपालिकाले यसबारेमा पहल गर्ने प्रतिबद्धता सुकुम्बासी जनता समक्ष जनाउदै आएतापनि अहिलेसम्म काम गर्न सकिरहेको छैन । उता माडी ७ स्थित देबेन्द्रपुरमा रहेको परुई खोलाको किनारमा बस्दै आएका करिब ४० घरधुरीमा रहेका चेपाङ्ग बस्तीमा पनि यस्तै समस्या रहेको छ । माडी नगरपालिकाले घर निर्माण गर्ने भनेर प्रतिबद्धता जाहेर गरे पनि आज सम्म घर निर्माण हुन सकिरहेको छैन । परुई खोलाको किनार तथा अन्य स्थानमा अस्थायीरुपमा घरटहरा बनाई बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरुलाई स्थायी आवासको व्यवस्था गर्न लागिएको बताउँदै आएका माडी नगर प्रमुख ठाकुर प्रसाद ढकालले सुकुम्बासी जनताहरुको घर निर्माण गर्न अहिलेसम्म सकिरहेका छैनन् ।

यस अगाडि नगर प्रमुख ढकालले स्थानीय सरकारको रुपमा रहेको माडी नगरपालिकाको सहयोग एवम छिमेक समाज नेपालको समन्वयमा अस्थायीरूपमा बसोबास गरेका १४० घरधुरी भूमिहीन सुकुम्बासीहरुलाई आवासको व्यवस्था गर्न लागिएको गत चैत २७ गते नेपाली आवाज डटकमसंग बताएका थिए । साथै उनले घर निर्माणका लागि लकडाउनले पनि प्रभाव नपार्ने बताएका थिए । तर पनि नगर प्रमुख ढकालले सुकुम्बासी जनताहरुको घर निर्माण गर्ने भनेको समयावधि झन्डै १ बर्ष पुग्न लागिसकेको सुकुम्बासी बस्ती निर्माण समितिका अध्यक्ष छबि चेपाङ्गले बताए ।

उनले, काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भनेझैं बिगत लामो समयदेखि माडीको बाँदरझुला, कुसुमखोला लगाएतका माडीका विभिन्न क्षेत्रहरुमा छरिएर रहेका सुकुम्बासीहरुको समस्या समाधान नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले माडीमा अयोध्याधाम निर्माण गर्छु भन्नु हास्यास्पद भएको र मन्दिर भन्दा पनि पहिला बस्ती निर्माण हुनुपर्ने तर्क गरे । मन्दिर निर्माण हुनुपर्छ हामी यसमा सकारात्मक छौ । तर मन्दिर निर्माणसंगै हाम्रो घर पनि निर्माण हुनुपर्छ । यदि समयमा नै चेपाङ्गहरुको बस्ती निर्माण हुन नसकेमा तत्काल आँफुहरु आन्दोलनमा उत्रने समेत चेतावनी दिए । यसैगरी सोही ठाउँमा नगरपालिकाले ब्लक सिस्टमअनुसार एक घरधुरीबराबर दुई कोठाको घर र एउटा चर्पीको निर्माण गर्ने जनाएको थियो ।

तपाईको प्रतिक्रिया