महेश पाण्डे
चितवन । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले कांग्रेसलाई एक बनाउने सभापति अबको अधिवेशनबाट छानीने बताएका छन् । बुधवार रत्ननगरमा नेपाली कांग्रेस रत्ननगर सभापति रुपनराज घिमिरेका पिता स्वर्गिय रविराज घिमिरेको १३ औं दिनको अवसरमा नेपाली कांग्रेस क्षेत्रिय समिति क्षेत्र नं. १ र रत्ननगर नगर समितिले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले कांग्रेसमा अब बन्ने सभापतिलाई बामपन्थिले पनि हराउन नसक्ने बताए । निकै छोटो समय बोलेका कोइरालाले सो कुरा राख्दै स्वर्गिय रविराज घिमिरेलाई श्रद्धाञ्जली ब्यक्त गरेर बिदा भएका थिए ।

कार्यक्रमा उपस्थित रहेका पूर्व मन्त्रि तथा कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले अहिलेको सरकारमा रहेका प्रधानमन्त्रीले चुनाव जितेर आएपछि जे गरेपनि हुन्छ भन्ने मान्यताका साथ अगाडी बढेको बताए । उनले नेपाली जनताले गरेको आन्दोलन र संघर्ष अर्को राजा र महारानी जन्माउन नभएको बताउदै प्रधानमन्त्री र राष्ट्रपति दुइजना एउटै पार्टीको आफ्नै मान्छे भएपछि दुनीयानै फरक भएको भन्ने नठान्न आग्रह गरे ।

रिजालले कांग्रेसले चुनाव हारेको भएपनि जसले जित्यो उसलाई विधी र नियम मिच्ने अधिकार नभएको बताए । उनले अबको कांग्रेस महाधिवेशन नजिक आइरहदा पार्टी भित्रको चरम गुटबन्धिलाई समाप्त पार्नुपर्ने धारणा पनि ब्यक्त गरे । उनले कांग्रेसीहरु श्रद्धाञ्जली सभामा मात्र एक नभै अब हरेक समय एक हुनु पर्ने बताए ।

सो कार्यक्रममा पूर्व मन्त्रि रामचन्द्र अधिकारी, नेपाली कांग्रेसका चितवन जिल्ला सभापति जित नारायण श्रेष्ठ, निर्वतमान चितवन जिल्ला सभापति टेक प्रसाद गुरुङ लगाएतको उपस्थिति रहेको थियो । सो श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन रत्ननगर नगर समितिका सचिव देवेन्द्र बहादुर भुजेलले गरेका थिए भने कार्यक्रम नेपाली कांग्रेस क्षेत्रिय समिति क्षेत्र नं. १ का सभापति राजु सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया