महेश पाण्डे
चितवन । रत्ननगर उद्योग वाणिज्य संघको यहि मंसिर २८ र २९ गते हुने २१ औं साधरण सभा तथा अधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेस निकटका व्यवसायीहरुको प्यानलले पत्रकार सम्मेलन गरि आफ्नो धारणा सार्वजनिक गरेको छ । शुक्रबार रत्ननगरमा पत्रकार सम्मेलन गरि सो प्यानलले आफ्नो धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै बरिष्ठ उपाध्यक्ष पदका उमेदवार देवेन्द्र कुमार श्रेष्ठले अहिले अरु टिमले पार्टीगत मत मागेको भएपनि आफ्नो टिमले भने १३२५ जना ब्यवसायीको मत मागेको बताए । उनले उवासंघ व्यवसायीको संघ भएकाले सबै ब्यवसायीले मतदान गरि आफु र आफ्नो टिमलाई जिताउने दावी गरे ।
श्रेष्ठले आफ्नो टिममा सबै क्षेत्रका ब्यवसायीको प्रतिनिधित्व गर्दै संयुक्त ब्यवसायीक टिम रहेको बताउदै सगुनको रुपमानै वस्तुगत तर्फको उपाध्यक्षमा रघुनाथ भट्ट र वस्तुगत सदस्यमा शिवराज मैनाली विजयी भैसकेको भन्दै खुसी ब्यक्त गरे । उनले चुनाव प्रत्येक पटक आइ रहने भएकाले खाली नेतृत्वमा आयो एकथान फोटो झुण्डायो गयो खालको हुन नहुने बताउदै सबै ब्यवसायीसंग कार्यगत एकता गर्दै उवासंघमा कुशल नेतृत्वको लागि आफुहरु टिमनै बनाएर लागेको बताए ।

उनले आफु र आफ्नो टिम स्पष्ट खाका सहित निर्वाचनमा आएको बताउदै आफ्ना खाकाहरु प्रस्तुत गरे । श्रेष्ठले झण्डै एक वर्ष देखि कोरोना भाइरसका कारण ठुला साना अझ त्यसमा पनि साना ब्यवसायी निकै मारमा परेको बताउदै सरकारले ल्याएको पुर्न कर्जा निति निकै उपयोगी भएतापनि बैङ्किग प्रक्रिया भने निकै झन्झटिलो भएकाले त्यसलाई सरलिकृत बनाउन आफ्नो टिम लाग्ने बताए । श्रेष्ठले हालका दिनमा केहि ठुला ब्यवसायीले आफ्नो कामलाई सम्हालेको भएपनि १० लाख भन्दा कम ऋण लिएका ब्यवसायीको भने यो कोरोना भाइरसबाट प्रभावित समयावधी भित्रको ब्याज भने मिनाहा हुनुपर्ने आवाजलाई बुलन्द हुन आवश्यक रहेकोले त्यसको लागि आफ्नो टिमले पहल गर्ने बताए ।
श्रेष्ठले उवासंघको बिकासको लागि आम्दानी हुन आवश्यक रहेको तर आम्दानीको बाटो खाली संघको भवनको भाडा , सदस्यता शुल्क र महोत्सब मात्र भएकाले त्यो प्रयाप्त नहुने बताउदै त्यसका लागि सौराहा चोकमा संघको जग्गा रहेको र त्यसको आडैमा सार्वजनिक जग्गा पनि रहेकाले उक्त स्थानमा गेष्ट हाउस बनाउन सकेमा संघको आम्दानी पनि बढ्ने र बिभिन्न ठाँउबाट आएकालाई बस्नको लागि सुरक्षित स्थान पनि हुने कुरालाई मध्य नजर गर्दै त्यसलाई ब्यवस्थित गर्न आफ्नो टिम लाग्ने बताए ।
चितवन पोल्ट्रिको राजधानी अझ त्यसमा पनि पुर्वी क्षेत्र पोल्ट्रिको हवनै भएकाले त्यसको बारेमा सबैमा जानकारी दिन पूर्वी क्षेत्रमा पोल्ट्रि म्युजियम बनाउनु पर्ने बताउदै श्रेष्ठले म्युजियम बने पश्चात त्यसलाई हेर्न पर्यटकको संख्या पनि बढ्ने र सबैले पोल्ट्रि बारे जान्ने अवसर पनि हुने स्पष्ट पार्दै आफु र आफ्नो टिम त्यसको लागि लाग्ने बताए । उनले चितवन माछा पालनमा पनि अघि रहेको बताउदै नया माछाको जात र त्यसको स्वादको लागि पश्चिम चितवनमा रहेको रामपुर कृषि क्याम्पस र जर्मनीमा रहेको एसइएससंग सहकार्य गराइ माछाको पनि हव बनाउन लागि पर्ने बताए ।
श्रेष्ठले तरकारी र केरा खेतिमा कहिले उत्पादन नहुने त कहिले उत्पादन बढि हुने अवस्था आइरहने भएकाले ५ देखि १० बिगाहा क्षेत्रफलको वोयर हाउस बनाउन सम्बन्धित निकायमा लविङ्ग गर्ने बताए । उनले अहिलेको अवस्थामा कोरोना भाइरसको कारणले पर्यटन क्षेत्र निकै सुस्ताएको अवस्थामा भएपनि पर्यटनलाई अगाडि बढाउन होटलको स्तर उन्नतिमा लाग्नुपर्ने देखिएको बताउदै त्यसरी स्तर उन्नतीमा लाग्दा लाग्ने कर मिनाहाको लागि सम्बन्धित निकायमा लविङ्ग गर्ने बताए । उनले प्रविधिको बिकास भैरहेको अवस्थामा सबै ब्यवसायीलाई डिजिटल मैत्रि बनाउन पहल गर्ने देखि लिएर बजार श्रृङ्गार, सहकारीहरुको सहकार्य लाई पनि अगाढी बढाउदै लैजाने बताए । उनले संघलाई हालका दिनमा एनजिओेले झै बिभिन्न ठाँउमा पैसा बाढ्ने गरेको आरोप लाग्ने गरेकोमा आफु र आफ्नो टिमले त्यस्तो कदापी हुन नदिने बताए ।
उनको प्यानलमा बाणिज्य उपाध्यक्षमा कबिन घिमिरे, उद्योग उपाध्यक्षमा निरन्जन थापा, बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट (जो निर्विरोध निर्वाचित भइसकेका छन्), एसोसिएट उपाध्यक्षमा हरिप्रसाद अधिकारी, महासचिवमा माधव पौडेल र कोषाध्यक्षमा मिना उप्रेती रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सिताराम भट्टराई, बुद्धराम जोशी, यमनाथ आचार्य, सुरेन्द्र श्रेष्ठ, हेमराज आचार्य, कृष्ण चौधरी, सुर्यकान्त पौडेल, सागर दवाडी, शमशेर घामल्य, सबिन मानन्धर, कपिल ढकाल, हरिशरण भट्टराई, अरुण सिवाकोटी, नवराज लामिछाने, शिवराज मैनाली ((जो निर्विरोध निर्वाचित भइसकेका छन्), श्रीलाल परियार र बुद्धि चौधरी रहेका छन् ।












