महेश पाण्डे
चितवन । ग्यालेक्सी एक्सप्रेस कुरियर एण्ड कार्गो प्रा.लिमा आवद्ध व्यवसायीको राष्ट्रिय भेला सौराहामा सुरु भएको छ । हाल ७१ जिल्लाका २३५ ठाँउमा सेवा केन्द्र रहेको संस्थाको नारायणगढ पूर्वमा रहेका व्यवसायीको ३ दिने राष्ट्रिय भेला चितवनको सौराहामा शुक्रबारबाट सुरु भएको हो । सो भेलामा नारायणगढ पूर्वमा रहेका करिब ४० ब्यवसायीको उपस्थिति रहेको छ ।

कार्यक्रममा उपस्थित संस्थाका प्रबन्ध निर्देशक प्रकाश गैरेले सन् २००७ मा दर्ता भएको सो संस्था हालका दिन सम्म आइपुग्दा पूर्व ताप्लेजुङ्ग देखि पश्चिममा बजाङ्ग, बाजुरा सम्म फैलिएको बताए । उनले हालका दिनमा सो संस्थामा उपत्यकामा मात्र १५० भन्दा बढि कर्मचारी कार्यरत रहेको र उपत्यका भन्दा बाहिर करिब ४०० भन्दा बढि कर्मचारी कार्यरत रहेको जानकारी दिए । गैरेले अहिलेको भेलामा कोरोना रोगका महामारीलाई दृष्टिगत गरि प्रदेश नं. ५, ६ र ७ का सेवा केन्द्रका प्रतिनिधिलाई समेट्न नसकेकोमा दुःख पनि ब्यक्त गरे ।

उनले हालका दिनमा संस्थाले मेडिकल कुरियर सेवा, सेम डे इकोनोमिक सेवा, डिएचएल, स्काई नेट, एरामिक्ससंगको सहकार्यमा दिईने सेवा, टेक्निकल कुरियर सेवा साथै एनजिओ र आइएनजिओको लागि वेयर हाउस को सेवा पनि प्रदान गरि रहेको बताए । उनले सो सेवाहरुलाई अझ प्रभावकारी बनाउदै र सेवा ग्राहीको सामानको सत प्रतिशत सुरक्षाको ग्यारेन्टि दिदै अब निकट भविष्यमानै डिजिटल प्रविधिको माध्यममा लैजाने प्रतिवद्धता पनि जाहेर गरे । शुक्रबार बाट सुरु भएको सो राष्ट्रिय भेला आइतबार सम्पन्न हुने छ ।

तपाईको प्रतिक्रिया