चितवन । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकार भ्रष्टाचारको चंगुलमा फसेको आरोप लगाएका छन्। सोमबार नेपाली कांग्रेस चितवनले गरेको सरकारको गलत कदमविरुद्धको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेता महतले भने, ‘अनियमितता र भ्रष्टाचार गर्नेहरुलाई केपी ओली सरकारले नै बचाउ गरेका छ। यो नेपाली जनताको लागि स्वीकार्य छैन।’ सरकारको कृयाकलापलाई नजिकबाट नियालिरहेको कांग्रेसले कोरोना भाइरस संक्रमणको जोखिमले निम्त्याएको असहज परिस्थितिका कारण सडकबाट संघर्ष गर्न नसकेको बताउँदै उनले थपे, ‘अझै पनि वातावरण पूर्णरुपमा सहज बनिसकेको छैन, तैपनि हामीलाई सडकमा आउन बाध्य गरायो।’

संविधानले दिएको अधिकार तीनवटै तहका सरकारले पूर्णरुपमा कार्यान्वयन गर्न नसकेको उनले बताए। जनताबाट उठाइएको करको सही सदुपयोग गरेर जनतालाई नै सुविधा दिनुपर्नेमा सरकार आफैँ कमाउ धन्दामा लागेकोले सरकारप्रति जनताको सोच सकारात्मक बन्न नसकेको उनको भनाइ छ। कोरोना भाइरस संक्रमण भएयता सरकारले त्यसको रोकथाम र नियन्त्रणको लागि पनि सरकारले आवश्यक काम गर्न नसकेको उनले बताए। सरकारले कोरोना भाइरस संक्रमणको जोखिममा अग्रभागमा रहेर काम गरेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको विषयमा काम गर्न नसक्दान स्वास्थ्य तथा सुरक्षा निकायमा कार्यरत कर्मचारीहरु नै बढी संक्रमणको जोखिममा परेको नेता महतले बताए।
सरकारको गवतिविधि विरुद्ध नेपाली कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ। सोही क्रममा चितवनमा पनि विरोध प्रदर्शन गरिएको हो। भरतपुरको चौबीसकोठीबाट सुरु भएको विरोध प्रदर्शन नारायणगढको पुलचोकमा पुगेर सभामा परिणत भएको थियो। नेकपा सरकार पार्टीभित्रको आन्तरिक किचलोका कारण जनताले दुःख पाएको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताए। भ्रष्टाचारीहरुको मुख नै नहेर्ने उद्घोष गरेको केपी ओली सरकार नै भ्रष्टहरुको रक्षाकवच बनेकोले सोमबार देशभर कांग्रसले विरोध प्रदर्शन गरेको उनको भनाइ छ। प्रदर्शनमा केपी ओलीविरुद्ध कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका थिए। विरोध प्रदर्शनमा हजारौँ नेता कार्यकर्ता सहभागी थिए।











