महेश पाण्डे
चितवन । देशकै तेस्रो पर्यटकीय गन्तब्यको रुपमा रहेको सौराहाका ब्यवासयीले “घुमौँ सौराहा” अभियान सुरु गरेका छन् । जसको नेतृत्व गरेको क्षेत्रिय होटल संघ चितवनले गरेको छ भने यसलाई साथ दिएको छ जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र नेपाल पर्यटन वोर्डले । कोरोना भाइरसले उथलपुथल बनाएको पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको आगमन हालका दिनमा हुन नसकेपनि आन्तरिक पर्यटकलाई केन्द्रित गरि क्रिशमस तथा अंग्रेजी नया वर्षलाई केन्द्रित गरि “घुमौँ सौराहा” अभियान सुरु गरिएको क्षेत्रिय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टाराईले जानकारी दिए ।

उनले पहिलो पटक आन्तरिक पर्यटन पर्वद्धनको लागि “घुमौँ सौराहा” अभियान लिएर बिराटनगर, बिरगञ्ज र जनकपुर जान लागेको बताए । भट्टाराईले आज (बिहीवार) देखि ३ दिन सम्म त्यहाँ रहेका जिबिस, नगरपालिका र बिभिन्न संघसंस्थालाई सौराहाको चिनारी सहित सौराहा शुरक्षीत छ भन्ने शन्देस दिन र सौराहा आउन निम्ता दिन जान लागेको बताए । उनले हरेक वर्ष हुनेगरेको चितवन हात्ती महोत्सव कोराना भाइरसका कारणले गर्दा हुन नसकेपनि माहोल राम्रो हुना साथ गरिने जानकारी पनि दिए । उनले हालका दिनमा सौराहामा १० देखि १५ प्रतिशत मात्र पर्यटक राती बस्ने गरि र ३० देखि ३५ प्रतिशत पर्यटक दिउसो घुम्ने गरि आउने गरेको जानकारी दिदै अब सौराहा आउने पर्यटकलाई निकुञ्जको घुमाईसँगै चितवनका धार्मीक पर्यटकीय स्थल पनि घुमाइने बताए । उनले सौराहा घुम्न आउने पर्यटकलाई होटल र रेष्टुरेन्ट हेरिकन २० देखि ४० प्रतिशत सम्म छुट दिइने पनि जानकारी दिए ।

रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले कोरोना भाइरसका कारण प्रभावित पर्यटन क्षेत्रलाई उठाउन यो अभियानमा रत्ननगर नगरपालिका पनि लागि जोडिएको बताए । उनले सौराहा सबै कुराले सुरक्षीत छ र पहिला भन्दा पनि अझ रमणीय रहेको जानकारी दिन र पर्यटन व्यवसायलाई उकास्न “घुमौँ सौराहा” अभियानमा सहकार्य गरेको बताए । वनले नेपालका ७५३ स्थानिय तहका सबै एकठाउँबाट अर्को ठाउँमा घुम्न जाने माहोल बन्न सकेपनि पर्यटन क्षेत्रलाई ठुलो टेवा पुग्ने बताउदै यो अभियानलाई आत्मसाथ गर्दै आफु पनि ३ दिने यात्राको क्रममा जान लागेको बताए ।

आज (बिहीवार) देखि ३ दिन सम्म पूर्वको बिराटनगर, बिरगञ्ज र जनकपुरसम्मको यात्रामा “घुमौँ सौराहा” अभियान लिएर एक टोलि निक्लिएको छ । सो टोलिमा रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन, क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराई, कोषाध्यक्ष माधव दुवाडी, रत्ननगर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा रेवान सौराहाका पूर्व अध्यक्ष लाल बहादुर भट्ट लगाएत पर्यटन व्यवसायी तथा संस्थाका प्रतिनिधि र पत्रकारहरु रहेका छन् ।

सौराहालाई अझ नजिकबाट नियाल्न यो पनि पढौँ

चितवन- सबैको लागि निकै सुनेको, देखेको र भोगेको ठाउँ हो सौराहा । सौराहा भन्नेबित्तिकै एकसिंगे गैँडा, हात्ती र सफारीको कुरा आइहाल्छ । तर, वास्तवमा यत्ति कुराले सौराहाको बारेमा जानकारी पुग्छ त ? हो यही प्रश्नको उत्तर दिने प्रयास हामी गर्दैछौँ तपार्ईंंलाई हामी ।
के हो सौराहा ?
सौराहा भनेको नेपालको पर्यटकीय तेस्रो गन्तव्य हो र यसको विकास पनि यही ढंगबाट भइरहेको छ । यो नेपालको प्रदेश नं ३ को चितवन जिल्लामा अवस्थित ठाउँ हो । सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू छन् । निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध मानिन्छ । सौराहा विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको छेउमा नै अवस्थित छ । सो निकुञ्ज ९३२ स्क्वायर किलोमिट क्षेत्रफलमा फैलिएको छ । जुन हात्ती, गैँडा, बाघ, मृग, जरायो, मयुर, चित्तल, बदेललगायतका वन्यजन्तुको साझा वासस्थान हो । यही भएको कारणले गर्दा पनि सबैखाले पर्यटकहरु देशविदेशबाट यहाँ आउने गर्दछन् । सौराहामा सामान्य गेष्ट हाउसदेखि ५ तारे स्तरका होटलहरु सञ्चालनमा रहेका छन् । जसको मूल्य प्रतिरात रु १ हजारदेखि १५ हजारसम्म रहेको छ भने यहाँ रु ३०० देखि १५०० सम्मको डिनर गर्न पाइन्छ ।

सौराहा र चितवनः

चितवन र सौराहालाई सँगै जोडेमात्र यसको सार्थकता हुन्छ । खासमा चितवन भन्नेबित्तिकै वन्यजन्तु पर्यटन र सफारी टुरिजम भनेर विश्वभर प्रसिद्ध रहेको छ । पछिल्लोपटक चितवनमा सफारी टुरिजममात्र नभएर अन्य खालका कार्यक्रमहरु जस्तैः सभा–सम्मेलन, पारिवारिक जमघट, उत्सव, विवाह, पार्टी तथा शभकार्यको लागि पनि महत्वपूर्ण बन्दै गइरहेको छ । योसँगै चितवन भन्नेबित्तिकै धार्मिक पर्यटनलाई पनि जोड्नै पर्ने हुन्छ । चितवनको पेरिफेरीमा रहेका देवघाट, जिरौनाको धर्मधाम, अलिपर जाँदा नवलपरासीको त्रिवेणीधाम, गैँडाकोटको डाँडाकालिका मन्दिरलगायतका रहेका छन् । यसका साथै उत्तरमा रहेको सिराइचुली, उपरदाङ्गगढी, माडीको सोमेश्वरगढीलगायतका एतिहासिक ठाउँ पनि चितवनका महत्वपूर्ण घुम्नै पर्ने क्षेत्रहरु रहेका हुन् ।


किन जाने सौराहा ?

सौरहा भन्नेबित्तिकै किन जाने ? भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो । खासमा सौराहा किन जाने भन्ने प्रश्नको उत्तर निम्न कुराहरुबाट दिन सकिन्छ ।

१) शान्त रुपमा प्राकृतिक रुपमा रमाउन ।

२) हात्ती, जीप, डुङ्गाद्धारा वा हिँडेर वन्यजन्तुसँगसम्बन्धी गतिविधि नजिकबाट नियाल्न र चराचुरुङ्गी हेर्न साथै मनोरम ठाउँहरुको अवलोकन गर्न ।

३) बूढीराप्ती, रापती, ढुङ्गे खोलालगायतका कारणले गर्दा नदीमा पाइने गोही, चराचुरुङ्गी हेर्न । साथै डुङ्गा सफारीमार्फत गर्ने यात्रा निकै मनमोहक हुने हुनाले रमाइलो ठाउँहरु दृश्यावलोकन गर्न ।

४) संसारबाटै लोप हुन लागेको भयंकर जनावर हात्तीहरुको प्रजनन केन्द्र अवलोकन गर्न । जुन केन्द्र हात्तीहरुको प्रजनन गर्ने नेपालकै एकमात्र ठाउँ रहेको छ । जसलाई सरकारले व्यवस्थित गरेर राखेको छ । उक्त स्थानमा हात्तीका बच्चाहरु (छावाहरु) जन्मिछन, हुर्कन्छन र बढ्ने गर्दछन् ।

५) हात्ती सफारीमार्फत् रमाउन । वास्तवमा भन्नुपर्दा देशको आर्थिक समृद्धि बढाउन र पर्यटन व्यवसायलाई अगाडि बढाउन हात्तीको भूमिका निकै महत्वपूर्ण रहेको छ ।

६) जीप सफारी गर्न । जुन सौराहाको आएपछि समूह वा रिजर्भ गरेर वन्यजन्तुसँग नजिक हुने सबैभन्दा महत्वपूर्ण पाटो रहेको छ ।

कति दिन बस्ने ?

२ रात ३ दिन : यदि तपाईं सौराहा आउनुभयो भने कम्तीमा पनि २ रात ३ दिन बस्ने सोचका साथ आउनुहोस् । यसमा तपाईंले सौरहाको केही झलक देख्न पाउनुहुनेछ । यदि तपाईंले चितवनलाई नजिकबाट हेर्न चाहानुहन्छ भने कम्तीमा ४ देखि ५ दिनको समय निकालेर आएमा सबैकुरा थाहा पाउन सक्नुहुनेछ ।

सौराहामा छुटाउनै नहुने कुराः

हात्ती सफारीः तपाईं सौराहा जानु भयो र यदि हात्ती सफारी गर्नुभएन भने सौराहा घुमाईको यात्रा अधुरै रहेको महसुस पछि गर्नुहुनेछ । खासमा हात्ती सफारीको अवधि २ देखि ३ घन्टाको हुने गर्दछ । हात्ती चढेर गएपछि तपाईंले गैँडा, बाघ, जरायो, मंयुरलगायतका जनावरहरु २–३ मिटरको नजिकबाट देख्न पाउनुहुनेछ । सौराहामा खासगरी हात्ती सफारी कुमरोज, खोरसोर र चित्रसेन सामुदायिक वनभित्र मात्र गराउन पाइने व्यवस्था रहेको छ ।

जिप सफारीः
सौराहाको अर्को रमाइलो र महत्वपूर्ण कुरा भनेको जीप सफारी पनि हो । यो खासगरी चितवन राष्ट्रिय निकुञ्ज भित्रको वा बाहिरको सामुदायिक वन क्षेत्रमा तपाईंको समयअनुसार घुम्न बनाइएको समयको तालिकामा आधारित रहेको हुन्छ । जुन आधा (हाफ) समयको वा पूरा (फुल) समयको सफारी भनेर विभाजन गरिएको छ । राष्ट्रिय निकुञ्जको कसरा हेडक्वाटरसम्म पुग्नेगरी दिनभरिको समूहमा गर्ने यात्रा एउटा रहेको छ भने ४–५ घन्टादेखि २–३ घन्टासम्मको राष्ट्रिय निकुञ्जका केही भाग र सामुदायिक वनको क्षेत्रमा सफारी गर्ने गरि व्यवस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया