काठमाडौँ । संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने भएका छन् । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले पुस १४ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको हाे ।
नेकपाका वरिष्ठ नेता झलानाथ खनालले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध काठमाडौंमा पचास हजार कार्यकर्ता उतारेर प्रदर्शन गरिने बताए ।

खनालले केन्द्रीय कमिटी बैठकबाट आन्दोलनका कार्यक्रम घोषणा भइसकेको जानकारी दिदै प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध पचास हजारदेखि एक लाख कार्यकर्ता काठमाडौंमा उतार्ने जानकारी दिए । उनले त्यही अनुसारनै सबै संगठनहरुलाई निर्देशन गरि सकेकाे र तयारी भइरहेको बताए ।

आइतबार कोटेश्वर पेरिसडाँडामा बसेको साे समूहको सचिवालय बैठकले शक्ति प्रदर्शनको तयारीबारे पनि छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । नेकपाकाे साे समूहको बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले पहिलो चरणको कार्यक्रम अन्तर्गत पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

साे बैठकले आन्दोलन परिचालन कमिटीको संयोजकमा श्रेष्ठलाई तोकेकाे छ । उनको नेतृत्वमा २ हजार ५ सय १ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन कमिटी बनाउने निर्णय पनि साे बैठकले गरेको थियो । प्रदर्शनको तयारीका लागि विद्यार्थी, युवा, महिलालगायतका जनवर्गीय संगठनहरुका बैठक भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।

साे समूहको केन्द्रीय कमिटी बैठकले देशभर आन्दोलन परिचालन र पार्टीका गतिविधि सक्रिय पार्न प्रदेश, जिल्ला र वडास्तरसम्मका भेला आयोजना गर्ने निर्णय पनि गरेको छ । निर्णयअनुसार पुस ११ गते काठमाडौंमा सबै प्रदेशहरूको समन्वयात्मक बैठक भइसकेको नेताहरुले बताएका छन् । शनिबार भएका बैठकले १४ गतेको प्रदर्शनको तयारी र तल्लो निकायसम्म प्रधानमन्त्री ओलीको कदमबारे कार्यकर्तालाई प्रशिक्षित गर्नेलगायत रणनीति तय गरेको छ ।
साथै साे समूहले आउँदो २० गतेसम्म सबै प्रदेश र गाउँपालिकास्तरका भेला सम्पन्न गरिसक्ने निर्णय गरेको थियो । त्यस्तै २५ गतेसम्म वडास्तरका भेला आयोजना हुने छन् ।

तपाईको प्रतिक्रिया