काठमाडौं । उखु किसान गगनदेवलाई केही भएपनि राहत मिलेकाे छ । गत मंसिर २८ गतेदेखि काठमाडौं आएर न्यायका लागि लडिरहेका सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको दुई विगाह खेत ललामीबाट जोगिने भएपछि उनलाई राहत मिलेकाे हाे । सामाजिक अभियान्ताहरुले जुटाइएको केहि सहयोग र चिनी मिलले तिरेको केही पैसाले बैंकबाट धितो लिलामी नहुने निश्चित भएसंगै रायलाई राहत मिलेकाे अभियान्ता नवीन यादवले जानकारी दिए ।

यादवले आइतबारसम्म गगनदेवको बैंकमा खातामा पाँच लाख ५५ हजार रुपैयाँ जम्मा भएको र अब लिलामी नहुने जानकारी दिए । अन्नपूर्ण चिनीमिलबाट दुई लाख ९१ हजार र सहयोगस्वरुप दुई लाख ६४ हजार रुपैयाँ जुटेपछि लिलामी प्रक्रिया नहुने यादवकाे भनाइ छ ।

यादवले कृषि विकास बैंकको मलंगवा शाखाले ऋण नविकरण गरेर किस्ता लिन थाल्ने र अब लिलामी रोकिने भन्ने जानकारी आएकाे बताए । मिलबाट आफ्नो बक्यौता रकम पाउनुपर्ने माग राख्दै माइतीघरमा धर्ना बस्दै गर्दा बैंकले तीन साता समय दिएर सर्लाहीको खर्वास्थित घरमा पत्र पठाएको थियो । गगनदेवले आफ्नो जग्गा लिलामी रोक्न कृषि बिकास बैंकलाई ९ दिनभित्र ९ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्ने थियो ।

गगनदेव रायको परिवारको आम्दानीको मुख्य स्रोत भनेकै उखु खेती हो । उनको परिवारले चार बिगाह खेतमा उखु लगाउँथे । त्यसैबाट आएको रकमले रायले १० जनाको परिवारको गर्जो टार्दै आएका थिए । रायको परिवारले जिल्लाकै अन्नपूर्ण र महालक्ष्मी सुगर मिललाई वाषिर्क ६०० मेटि्रक टनसम्म उखु पुर्‍याउने गर्थ्याे ।

पछिल्ला वर्षहरुमा उखु मिलले बदमासी गर्न थाले पछि र उखु लगेपछि पैसा पाउन गाह्रो हुन थाले पछि रायकाे परिवारलाई समस्या परेकाे थियाे । उनले अन्नपूर्ण चिनी मिलबाट तीन लाख रुपैयाँ भन्दा धेरै रकम पाउन बाँकी थियो । मिलले दिएपछि तिरौंला भन्दै घर खर्च चलाउन स्थानीय साहुबाट ३६ प्रतिशत ब्याजमा उनले ऋण लिए ।

उनले ऋण त लिए तर मिलबाट पैसा आएन । ऋणको साँवा र ब्याज बढेर झन बरु ७ लाख नाघ्यो । स्थानीय ऋण महँगो भएपछि रायले त्यही उखु लगाएको खेत धितो राखेर १० लाख रुपैयाँ कृषि विकास बैंकबाट ऋण झिके । गाउँको साहूको ऋण तिरेर बाँकी पैसाले घर चलाए, तर पनि चिनी मिलबाट पैसा आएन । अहिले सोही ऋण चुक्ता नगरेको भन्दै बैंकले लिलामी प्रक्रिया अघि बढाएको थियाे ।

तपाईको प्रतिक्रिया