चितवन । चितवन प्रहरीले ठुलाे सफलता हात पारेकाे छ । जस अनुसार चितवनमा माेटरसाईकल तथा स्कुटर चाेरी गर्ने चार जनालाई पक्राउ गरि प्रहरीले आज (बुधबार) सार्वजनिक गरेकाे छ । चितवनमा माेटरसाईकल तथा स्कुटर चाेरीकाे घटना बढेपछि प्रहरीले त्यसकाे अनुसन्धानकाे लागि सक्रिय भई खाेजतलास गर्दा गत पाैष २० गते भरतपुर-१० मा रहेकाे अष्टभुजा पेट्रोल पम्प पछाडिबाट प्रदेश नं. ३-०२-००१ प १८७४ नं. काे प्लेट भएकाे २२० सिसीकाे पल्सर बाईक सहित मेलाेन सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार पक्राउ पर्नेहरुमा भरतपुर-९, सरदपुर बस्ने वर्ष २१ का सुनार सहित भरतपुर–११ बस्ने वर्ष १८ का शिव वि.क., भरतपुर–८ बस्ने वर्ष २८ का सन्तकुमार गुरुङ, भरतपुर–५ बस्ने वर्ष ३७ का नवराज श्रेष्ठ रहेका छन् ।

पक्राउ परेका उनिहरुलाई चितवनका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । उनिहरु पक्राउ परेसंगै पुस २ गते रत्ननगर १० भानुचोकबाट प्रदेश नं. ३–०२–०१२प ९९६४ को २२० सीसीको पल्सर मोटरसाइकल, पुस १० गते रत्ननगर ३ शान्तिचोकबाट ना५७प १८ को १५० सीसीको पल्सर मोटरसाइकल, पुस १६ गते भरतपुर १ रामनगरबाट ना४९प ५०६५ को डिओ स्कुटर, पुस १८ गते कालिका नगरपालिका ५ नवज्योति टोलबाट ना४६प १३२० को २२० सीसीको पल्सर मोटरसाइकल पनि बरामद गरिएको प्रवक्ता थापाले जानकारी दिए ।
प्रवक्ता थापाले पक्राउ परेका चारै जनालाई चितवन जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको बताए । नेपालकाे कानुनी ब्यवस्थामा यस प्रकारको चोरीमा संलग्नलाई ३ वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख रहेकाे छ ।

    

तपाईको प्रतिक्रिया