काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको स्थिरताको स्थिति भएको बताउदै कसैले चाहेर पनि आफूलाई हटाउन नसक्ने बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले अहिले स्थिरताको स्थिति भएकाले चुनाव हुनु अस्थिरता भन्नु गलत भएको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले संवैधानिक बाटोबाट जाँदा अस्थिरता नहुने बताउदै अस्थिरता त्यतिबेला मात्र हुने जतिबेला बाह्य शक्तिको इशारामा देशका शक्तिहरु गोटी बन्ने स्थिति र राष्ट्रिय राजनीतिलाई अस्वस्थतातिर धकेल्ने अवस्था आउने अनि विकासका काममा व्यवधान गर्न थालीने र निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने अवस्था आउछ भन्ने आफ्नो धारणा राखे ।
ओलीले आफूले ५ वर्ष सरकार टिकोस् भन्ने चाहेको भएपनि आफ्नै पार्टीका नेताहरुले देशलाई अस्थिरतामा लैजाने प्रयास गरेको आरोप पनि लगाए । उनले देशलाई अस्थिरतामा लैजान बिभिन्न मिडियामा प्रायोजित सञ्चार माध्यम प्रयोग भएका बताउदै केहि बुद्धिजिवीहरुको एउटा झुण्ड पनि एसमा लागेको बताए ।
प्रधानमन्त्री ओलीले आफूले कुनै गल्ती गरेको भए जनताले दण्डित गर्ने भन्दै उनले निर्वाचनमा जान सबैलाई आग्रह पनि गरे । संसद विघटनलाई अरुले असंवैधानिक र गैरजिम्मेवारपूर्ण कदम भनेको भन्दै आक्रोश पोख्दै ओलीले आफुले जिम्मेवारीबोधका साथ प्रतिनिधिसभा विघटन गरेको भन्दै लोकतन्त्र ल्याउन जनताले जति बलिदान गरेका छन् त्यसको हिसाब गरेर पदलोलुप मान्छेहरुलाई हावी हुन दिएर लोकतन्त्रलाई डिरेल गर्न दिन हुँदैन भनेर प्रतिनिधिसभा विघटन गरेको जिकिर गरे ।

तपाईको प्रतिक्रिया