चितवन। पूर्वी चितवनको पुरानो ज्योतिहल अब सुविधा सम्पन्न सिटी सेन्टर बन्ने भएकाे छ । सौराहा भेन्चर्स प्रा.लि.ले रत्ननगर–१ मा रहेकाे पुरानो ज्योतिहल रहेको ठाउँमा सिनेमाहल सहितको सुविधा सम्पन्न सिटी सेन्टर सञ्चालन गर्न लागेको हो ।
सौराहा भेन्चर्स प्रा.लिमा सौराहाका १५ जना व्यवसायीकाे १५ करोड लगानी रहेकाे साे प्रा.लीका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए । भट्टराईले सौराहाका व्यवसायीहरुले भाटभटेनी सुपर मार्केटको तिर्खा मेटाउने गरी रत्ननगरमा सिटी सेन्टर सञ्चालनको तयारी गरेकाे जानकारी पनि दिए ।

साे सिटी सेन्टर भवनको बुधवार रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले शिलान्यास गरे । उनले भाटभटेनी सुपरमार्केटको झझल्को आउने गरी पूर्वी चितवनमा एउटा सुविधा सम्पन्न सपिङ सेन्टरको आवश्यकता रहेको भन्दै व्यवसायीहरुले सञ्चालन गर्न लागेको सिटी सेन्टरले त्यो आवश्यकता पुरा गर्ने धारणा व्यक्त गरे । कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले शहरीकरण तर्फ अगाडि बढिरहेको रत्ननगरमा सञ्चालन हुन लागेको सिटी सेन्टर पूर्वी चितवनबासीको एकमात्र रोजाइको विषय बन्नेमा दुईमत नरहेकाे जिकिर गरे ।

साे प्रा.लिका सदस्य एवम् सौराहाका पर्यटन व्यवसायी दीपेन्द्र खतिवाडाले मानवीय आवश्यकता भित्र पर्ने सबै चीज एउटै भवनमा उपलब्ध हुने गरी लिफ्ट सहितको तीन तले सुविधा सम्पन्न भवन निर्माण हुने जानकारी दिए ।
त्यस्तै प्रा.लि.का अर्का सदस्य तथा क्षेत्रीय होटल संघ चितवनका निर्वतमान अध्यक्ष सुमन घिमिरेले ६ महिनाभित्र सपिङ सेन्टर सञ्चालनमा ल्याउने र सिनेमाहलका सबै संरचना संचालनको लागि दुई बर्ष लाग्ने बताउदै उनले सौराहाका होटल तथा रेष्टुरेण्टहरुलाई आवश्यक पर्ने सबै सामाग्रीहरु सिटी सेन्टरबाट उपलब्ध हुने गरी पसलहरु सञ्चालनमा ल्याइने जानकारी दिए ।

तपाईको प्रतिक्रिया