
काठमाडौं । भारतबाट नेपाल आएको पेट्रोलियम पाइपलाइनबाट इन्धन चोरी हुने गरेको खुलासा भएको छ । भारतबाट बाराको अमलेखगञ्जसम्म इन्धन आपूर्तिका लागि ल्याईएको पेट्रोलियम पाइपलाइनबाट इन्धन चोरी हुने गरेको तथ्य भारतको चर्चित पत्रिका नवभारत टाइम्सले सार्वजनिक गरेको हो । सो पत्रिकाका अनुसार बिहारको सिवानस्थित लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँ नजिकै पाइपलाइनबाट इन्धन चोरी भएको हो ।
सो पत्रिकाले भूमिगत पाइपमा प्वाल पारेर उक्त प्वालमा सानो पाइप ‘फिट’ गरेर इन्धन चोरी भएको तथ्य सार्वजनिक गरेको छ । तर यसरी कहिलेदेखि इन्धन चोरी हुँदै आएको हो र हालसम्म कति इन्धन चोरी भयो भन्नेबारे प्रस्टसंग खुलाइएको छैन ।
बिहारमा यस प्रकारको चोरीको यो नै पहिलो घटना भएको नवभारत टाइम्सले लेखेको छ । चोरीको घटना थाहा भए लगत्तै इन्डियन आयल कर्पोरेसनका अधिकारीहरुले घटनास्थलको निरीक्षण गरिसकेको बताईएको छ । नेपाल तर्फ आएको पाइपलाइनमाथिको जमिनमा इन्धन चुहावट देखिएपछि पाइपलाइनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले इन्डियन आयल कर्पोरेसनलाई जानकारी दिएका थिए । सो कुरा थाहा पाए लगत्तै इन्डियन आयल कर्पोरेसनका कर्मचारी तथा प्राविधिक टोलीले स्थलगत अनुसन्धान गरेपछि चोरीको तथ्य खुलेको थियो ।
सो समाचारका अनुसार जमिनको सतहबाट करिब चार फिट गहिराइमा रहेको पाइपमा प्वाल बनाएर सानो पाइप जोड्दै चोरहरुले इन्धन चोरी गर्दै आएको खुलेको छ । उता नेपालले नेपाल आयल निगमले भने भारतीय भूमिमा भएको इन्धन चोरीको असर वा क्षति नेपालले व्यहोर्नु नपर्ने जनाएको छ ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अमलेखगञ्ज डिपोमा आइपुगेको इन्धनको मात्र नेपालले भुक्तानी गर्नुपर्ने भएकाले भारतीय क्षेत्रमा चोरी भएको इन्धनको क्षति नेपालले व्यहोर्नु नपर्ने बताएका छन् । सो पाइपलाइनबाट नेपालमा डिजेलमात्र आपूर्ति हुदै आएको छ ।