चितवन ०२ माघ । चितवनको कालिका नगरपालिकामा शुक्रवार नगर अस्पताल उद्घाटन गरिएको छ । जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो । वडा नं ६ खोलेसिमलमा मेयर खुमनारायण श्रेष्ठले शक्रवार अस्पतालको उद्घाटन गरेका छन । सो अबसरमा उनले अस्पतालको सेवा सुचारु भएसंगै उपचारका लागि भरतपुर धाउनु पर्ने बाध्यताको अन्त्य भएको बताए ।

मेयर श्रेष्ठले १५ शैयाबाट सुरु भएको कालिका नगर अस्पताललाई छिट्टै २५ शैयाको बनाएर डाक्टर र अन्य कर्मचारीको दरबन्दी बढाउने बताए । हाम्रा नगरबासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु पर्छ मेयर श्रेष्ठले भने उपकरण र जनशक्तिको व्यवस्थापन नगरपालिकाले गर्ने छ । २०४९ सालमा स्थापना गरिएको जुटपानी स्वास्थ्य चौकीको २०६३ सालमा स्तरोउन्नती गरी प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको थियो । अस्पतालमा स्तरोन्नती भएसंगै कालिका नगर अस्पतालमा अन्य स्वास्थ्य सेवा सहित आकस्मिक सेवा,इसीजी सेवा,फार्मेसी सेवा,एक्सरे सेवा,प्रयोग शाखा सेवा थप गरिएको छ । चौविसै घण्टा विरामीलाई भर्ना गरेर उपचार गर्ने व्यवस्था सहित अस्पताल सञ्चालनमा आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए ।

सो अस्पतालमा ४ जना विशेषज्ञ डाक्टर सहित ३४ जना स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्नेछन । केही दिनमै प्रयोगशालामा थाइराइटको परीक्षण,भिडियो एक्सरे तथा दन्त सेवा थप सञ्चालन गरिने उनले बताए । अस्पतालका प्रमुख डा.जीवन खरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु विनोद रेग्मी,हिराबहादुर गुरुङ लगायत स्थानीय राजनीतिक दल तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया