महेश पाण्डे
चितवन । चितवनको पहिलो आकाशे पुलको उद्धघाटन गरिएको छ । रत्ननगर नगरपालिका वडा नं. २ टाँडी चोकमा निर्माण सम्पन्न भएको सो आकाशे पुलको आज (शनिवार) उद्धघाटन गरिएको हो । २०७६ साल फागुन २ गते देखि निर्माण सुरु भएको चितवनको नै पहिलो आकाशे पुल गत पौष २२ गते सम्पन्न भए लगत्तै सो पुलको उद्धघाटन गरिएको हो । रत्ननगर नगरपालिकाको ड्रिम प्रोजेक्टको रुपमा रहेको सो आकाशे पुलको निर्माणको जिम्मा हिम सगरमाथा कन्स्ट्रक्सन प्रा.लिले लिएको थियो ।

सो कम्पनिले आकाशे पुलको करिब २ करोड ४२ लाख १४ हजार ५ सय ३३ रुपैयामा ठेक्का कबोल गरेर निर्माण सुरु गरेको भएपनि सो पुलको लागि निर्माण कम्पनिले २ लाख २२ हजार २ सय ६३ रुपैया कम अर्थात २ करोड ३९ लाख ९२ हजार २ सय ३३ रुपैयामानै निर्माण सम्पन्न भएको भन्दै भुक्तानि सिफरीस गरेको छ । सम्पूर्ण रुपमा फलामको प्रयोग गरेर सो पुलको निर्माण सम्पन्न गरिएको निर्माण कम्पनिका निर्देशक सुर्य तिमल्सिनाले जानकारी दिए । सो पुलको सडक देखिको उचाई ५.५ मिटर र पुलको लम्बाई ४२.३ मिटर रहेको तिमल्सिनाले बताए ।

रत्ननगर नगरपालिकाका मेयर वनले आकाशे पुलको निर्माण सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । उनले सो पुलको निर्माणको क्रममा कसैलाई अप्ठ्यारो परेको भए क्षमा पनि मागे । वनले सो पुल नगरवासीको हितको लागि रहेको तर्क गरे । उनले अब टाँडी चोकमा बनेको सो आकाशे पुल लगत्तै सौराहा चोकमा पनि त्यस्तै पुल बनाउनको लागि डिपिआर तयार भैसकेको जानकारी दिदै अर्को वर्ष निर्माण सुरु गर्ने योजना रहेको बताए ।

वनले सौराहाचोक पछि स्थानियको माग अनुसार बकुलहर चोकमा पनि आकाशे पुल बनाउने परिकल्पना रहेको पनि जानकारी दिए । हाल पथलैया देखि नारायणगढ सम्मको बाटो ६ लेनको बनाउने काम सुरु भइरहेकोले सडकको लेभल गर्ने मात्र काम भएको जानकारी दिदै मेयर वनले अबको अर्को ड्रिम प्रोजेक्ट भनेको “लौरीघोल वीच” बनाउने रहेको बताए । उनले २०५४ सालमानै सुरु भएको लौरिघोल तालको व्यवस्थापनको काम अझै नसकिएको बताउदै अब भने सबै युवायुवती तथा बुढापाकाको रोजाई रहने गरि लौरिघोल बिच बनाउने घोषणा पनि गरे । यसको लागि तालको वरपर र पानी बग्ने मुहानमा फोहोर नगर्न पनि मेयर वनले सबैलाई आग्रह पनि गरे ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य ब्यक्त गर्दै नगरपालिकाकी उप मेयर बिमला दुवाडीले पुल निर्माणको क्रममा धेरैनै अप्ठ्यारो र समस्या आएको भएपनि सो समस्या समाधानको लागि सहयोग गर्ने बजारवासी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सबैलाई धन्यवाद ब्यक्त गरिन । उनले अब सो पुल बनेसंगै बजारमा हुने दुर्घटनामा पनि कमि आउने बिश्वास लिइन ।

कार्यक्रमा उपस्थित रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले आकाशे पुल बने संगै रत्ननगरको गौरब बढेको र रत्ननगरलाई सबै क्षेत्रमा चिनाउन सहयोग मिल्ने धारणा ब्यक्त गरे । उनले पथलैया देखि नारायणगढ सम्मको ६ लेनको सडक बिस्तारको काम पनि अहिले अगाडि बढेको बताउदै अब बनेको संरचना नभत्किने गरि कार्य हुनु पर्ने बताउदै सो अकाशे पुलको प्रयोग अधिकतम रुपमा गर्न सबैमा आग्रह पनि गरे ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका वडा अध्यक्ष तिलक राज शर्मा, नेपाली कांग्रेस रत्ननगरका नगर सभापति रुपन राज घिमीरे, नेकपाका नगर अध्यक्ष केपी लामिछाने, ईप्रका रत्ननगरका प्रमुख रबिन कार्की लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया