काठमाण्डौ । म्यानमारमा सरकार र सेनाबीच तनाव बढ्दै गएको छ जस्को फल स्वरुप प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी
पक्राउ परेकी छिन् । केही समयदेखि म्यानमार सरकार र सेनाबीच तनाव भइरहेको छ । सुकीको पक्राउसँगै म्यानमारमा सत्ता परिवर्तन हुने आशंका पनि गरिएको छ । सुकीलाई सेनाले हिरासतमा लिएको उनको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले जनाएको हो ।
सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले गत नोभेम्बरमा भएको चुनावमा फराकिलो मतले जित हासिल गरेको थियो । तर उता सेनाले भने सो चुनावमा धाँधली भएको दाबी गर्दै आएको छ । सोमवारको संसद बैठक स्थगित गर्न सेनाले आह्वान गरेको थियो तर बैठक बस्ने अवस्था देखि सुकीलाई पक्राउ गरिएको नेशनल लिग फर डेमोक्रेटिक पार्टीले जनाएको छ ।
रोयटर्सलाई उदृत गर्दै बीबीसीले दिएको जानकारी अनुसार सेनाले प्रजातन्त्रवादी नेतृ सुकी, राष्ट्रपति विन मिंट र अर्का एक नेतालाई हिरासतमा लिएको छ । सो कुरालाई नेशनल लिग फर डेमोक्रेटिक पार्टीका प्रवक्ताले पनि पुष्टि गरेको बीबीसीले जनाएको छ । अहिले म्यानमारको राजधानी नेपिटाव र अन्य मुख्य सहरका सडकमा सेनाको बाक्लो उपस्थित रहेको छ ।
सेनाको सो कदम पछि राजधानीमा टेलिफोन र इन्टरनेट सेवामा समेत प्रतिबन्ध लगाइएको छ । नेतृ सुकीले १५ वर्षसम्म लामो नजरबन्दको जीवन बिताएकी थिइन भने उनले १९९१ को नोबेल शान्ति पुरस्कार पनि पाएकी थिइन ।

तपाईको प्रतिक्रिया