महेश पाण्डे
चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत घनश्याम पन्थीले हालका दिनमा कर दातामा मिसम्याचको समस्या बढि देखिएका कारण रुवाबासीको स्थिती पैदा भएको बताएका छन् । आन्तरिक राजश्व कार्यालय भरतपुरको आयोजना तथा रत्ननगर उद्योग वाणिज्य संघको सहकार्यमा बुधवार रत्ननगरमा भएको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत घनश्याम पन्थीले सो कुरा बताएका हुन ।

पन्थीले राजश्व कार्यालयमा आएर १९ लाख सम्मको विवरण डेवान फारम भर्ने र कर चुक्ता लिने तर सोहि करदाताको नाममा करौडोको कारोबारको विवरण अर्को पार्टीले देखाउदा धेरैनै समस्या देखिएको बताए । उनले सोहि कारणले सानो कारोबार गरेको ब्यवसायीले पनि लाखौको जरिवाना तिर्नुपर्ने अवस्था आएकाले रुवाबासीको स्थिती देखिएको बताएका छन् । उनले प्यान र भ्याट दुबैमा दर्ता भएका व्यवसायीलाई अनिवार्य रुपमा खरिद तथा बिक्रि किताब राख्न र बिल काट्न सुझाव दिए । यसले आफ्नो आम्दानी र खर्च पनि थाहा हुने, करमा लाग्ने जरिवानाबाट पनि बचिने र बेला बेलामा राजश्व कार्यालयले गर्ने चेकजाँचका क्रममा पनि जरिवानाबाट पनि बचिने पन्थीको भनाई थियो ।

पन्थीले कुनैपनि ब्यवसाय दर्ता गरेर मात्र सुरु गर्नुपर्ने र दर्ता पश्चात स्थाई लेखा नं. अनिवार्य रुपमा सबैले देखिने गरि राख्नु पर्ने पनि जानकारी दिए । उनले कोभिड भाइरसका कारण आर्थीक ऐन २०७७ मा फागुन मसान्त सम्म कर छुटको ब्यवस्था भएकाले तुरुन्त त्यसको फाइदा लिन सबैलाई आग्रह पनि गरे । उनले कर प्रशासन र करदाता बिचमा निकै ठुलो खाडल रहेको बताउदै केहि समस्या परे कर कार्यालयमा आएर आफ्ना कुरा निर्धक भन्न आग्रह पनि गरे । वक्यौता रहेका र दर्ता नगरेका व्यवसायीले आर्थीक ऐनको फाईदा लिन आग्रह गर्दै पन्थीले फागुन मसान्त पछि भने लामो समय कर चुक्ता नलिएकाको हकमा सतप्रतिशत जरिवाना सहितको बक्यौता कायम गरि ब्यवसायनै खारेज गरिने भएकाले मौकाको फाइदाा लिन सबैलाई आग्रह पनि गरे ।

सो कार्यक्रमको अध्यक्षता गरेका रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले स्थायी लेखा नं. लिएर बुझाउनु पर्ने विवरण र करको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताए । उनले ब्यवसायी र कर कार्यालयको खाडल फराकिलो रहेकाले सो खाडललाई पुर्न कर परामर्श सम्बन्धि कार्यक्रम संघले बेलाबेलामा गर्नेगरेको जानकारी पनि दिए ।

आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत सञ्जय सरदारले कर कार्यालयले करदातालाई दिएको बिभिन्न छुटको बारेमा प्रोजेक्टर मार्फत जानकारी दिएका थिए । सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शंकर गिरी, निवर्तमान अध्यक्ष राजाराम रेग्मी, रत्ननगर नगरपालिकाका कर अधिकृत धर्मराज अधिकारी साथै संघमा आवद्ध पदाधिकारी, सदस्य तथा बिभिन्न व्यवसायीको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया