अजित अधिकारी
चितवन । माडीमा स्कुटरको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । माडी नगरपालिका–४ स्थित अम्रौलीमा पैदल हिडिरहेकी एक बृद्ध महिलालाई स्कुटरले ठक्कर दिदा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ६४ वर्षिया जुनुई महतो रहेको प्रहरीको भनाई छ ।
दुर्घटना पश्चात उपचारको क्रममा उनको ज्यान गएको हो । प्रहरीका अनुसार, अम्रौलीको भित्री सडक खण्ड अन्तरगत एकता स्तम्भ हुँदै बसन्तपुरतर्फ आउदै गरेको ना. ३८ प. ७७३५ नम्बरको स्कुटरले सोमबार बिहान ७ः४५ बजेको समयमा सडकमा पैदल यात्रा गरिरहेकी महतोलाई ठक्कर दिएको थियो । घाइते भए पश्चात् उनलाई सुरुमा बघौडा अस्पताल र त्यस पश्चात् थप उपचारको लागि भरतपुर पठाइएको थियो । ठक्कर दिने स्कुटरमा सवार माडी–४ निवासी बर्ष १९ का निकेश महतो र बर्ष ३६ का हरी भुजेल समेत सामान्य घाइते भएका थिए । बृद्धाको मृत्यु भएसंगै दुबैजनालाई जिल्ला प्रहरी कार्यालय चलान गरिएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिए ।











