चितवन । चितवन राष्ट्रिय निकुञ्जले १४ जना गैंडा तस्करलाई सार्वजनिक गरेको छ । निकुञ्ज प्रशासनले पुस १३ देखि माघ १४ गतेसम्ममा पक्राउ परेका १४ जनालाई बुधबार अदालतमा बुझाउनुअघि आफ्नै मुख्य कार्यालय कसरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पछिल्ला ४५ दिनमा दर्जन बढी व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिदै हाल पक्राउ परेका ब्यक्तिहरु अहिलेसम्मकै ठूलो सफलताको रुपमा रहेको बताए । वन्यजन्तुको चोरी सिकारी बढ्दै जाँदा पनि यसमा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकेको भनेर आलोचित बन्दै आएको चितवन राष्ट्रिय निकुञ्जलाई यसले केहि राहत मिलेको छ ।

बरालका अनुसार अहिले पक्राउ परेकाहरू परिवारका सदस्यलाई गैंडा मार्न उक्साउनेदेखि गैंडाको खाग बिक्रीका लागि विदेश पठाउनेसम्म रहेको छन् । उनका अनुसार यस आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २३ वटा एक सिंगे गैंडा मरेका छन् । तीमध्ये ४ वटा सिकारीले मारेका थिए । गैंडा मर्ने र मारिने क्रम अनपेक्षित रूपमा बढ्दै गएपछि संसदीय समितिले समेत चासो राखेको थियो । जसले गर्दा गैडा तस्करलाई समात्नै पर्ने दबाव निकुञ्ज प्रशासनलाई रहेको थियो ।

बरालले कोरोना भाइरसको महामारीसँगै सुरक्षा निकायको ध्यान अन्य कुरामा मोडिएको अवस्थामा निकुञ्जमा चोरी सिकारी बढेको बताए । उनले यस पटक आफुहरुले ठूलो सफलता हात पारेका बताउदै विगतमा तस्करीमा कम संलग्नता रहेका व्यक्तिहरूमात्रै बढी समातिएको भन्ने गुनासो आउने गरेकोमा हाल पक्राउ परेकाहरु तस्करीमा संलग्न मुख्य योजनाकारलाई नै समात्न सफल भएको बताए । गैंडा मारिने क्रम बढ्दै गएपछि अनुसन्धान गर्दै जादा विगतमा चोरी सिकारीमा संलग्न भएर सजाय पूरा गरी फर्किएका व्यक्तिहरू पनि पुनः वन्यजन्तुको सिकारीमा संलग्न भएको भेटिएको बरालले बताए ।

बरालका अनुसार हाल पक्राउ परेकाहरुमा गोली हानेर गैंडा मार्ने, गैंडा मार्ने क्रममा सघाउने, ओसारपोसारदेखि गैंडा मार्न निर्देशन दिने र खागलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने गिरोहलाई नै नियन्त्रणमा लिएको बताए । पक्राउ परेका उनिहरुलाई निकुञ्ज प्रशासनले निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गण, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलगायतको सहयोगमा नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया